नगर प्रमुख आफैँ फोहर टिप्दै सडकमा



हेटौंडा।

कार्यभार सुरु गरेबाटै हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको सफा हेटौंडा अभियानलाई सार्थक बनाउन हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामा आफैँ शनिबार विहान सडकमा देखिनुभयो ।

हातमा कुचो बोकेर त्रिदेव मार्गको सडक सफा गर्ने अभियानमा रहनुभएकी उहाँसँगै स्थानीयको साथ थियो । उहाँसहित महिला टोली सडक बढार्ने र फोहर संकलनको काममा थियो । उपमहानगरले सुरु गरेको अभियानलाई हरेक साता शनिबार कार्यान्वयनमा ल्याउन नगर प्रमुख लामा आफैँ खटिने गर्नुभएको छ ।

उहाँको अभियानमा उपमहानगरको वातावरण शाखाका कर्मचारीसहित टोल विकास संस्थाको उपस्थितिमा अभियान चल्दै आएको छ । नगर प्रमुख लामा आफै सडकमा फोहर टिप्ने र बढार्ने गर्दै गर्दा मर्निङवाकमा रहेकाहरु पनि साथ दिन बाध्य देखिन्थे । नमस्कार भन्दै नजिकिएका केही महिलालाई बजारको सुन्दरता बढाउन पनि लाग्न भन्दै नगर प्रमुख लामाले अभियानको सहयात्री बनाउनुभएको थियो ।

उपमहानगरपालिको अगुवाइमा हरेका शनिबार गरिने अभियान सफल र हेटौंडालाई सफा शहरका रुपमा विकास गर्न नगर प्रमुख लामाले अगुवाइ गर्दै आउनुभएको छ । शनिबार हेटौंडा–४ को परिजातपथ र त्रिदेव मार्गमा टोल विकास संस्था, महिला उद्यमी र आमा समूहसहितको टोली हेटौंडा सफा बनाउन सडकमा उत्रिएको हो ।

अभियानलाई साझा बनाउनका लागि टुगेदर वी क्यानको नारा दिइएको छ । नगर प्रमुख लामाले उपमहानगरले अभिभावकत्व लिने र दिनहुँ मैदानम गएर काम गर्ने अवस्था बन्न नसक्ने भन्दै शनिबार २ घण्टा अभियानलाई दिने गरी काम गरिरहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्