चिसाेले पूर्वाधार निर्माणमा समस्या


मनाङ  । 

चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङका विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो ।

गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणको कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेष गरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही निर्माण भइरहेको तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको उहाँले बताउनुभयो ।

चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणका काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जय विष्टले बताउनुभयो । ‘हिउँका कारण माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणको काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै हुन्छ’ –उहाँले भन्नुभयो । मनाङको मेरुदण्डका रूपमा रहेको चामे–बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उहाँले बताउनुभयो । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।

उक्त सडक खण्ड निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रूपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेष रूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । विपद्ग्रस्त जिल्लालाई समावेश गरेर संघ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट ३ करोड १४ लाख विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा चिसो शुरू भएपछि केही ढिलाइ हुने भएको छ ।

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि ६-६ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।

शीतलहरले जनजीवन प्रभावित

अघिल्लो हप्तादेखि शुरू भएको शीतलहरले पर्साको वीरगन्जसहित यस आसपासको जनजीवन कष्टकर बनाएको छ । बाक्लो हुस्सुसँगै चिसो हावा चलिरहेकाले जाडो अत्यन्त बढेको छ । यस वर्ष ढिलो गरी मधेस प्रदेशमा शीतलहर शुरू भएको हो ।

अत्यधिक जाडोले बालबालिका तथा वृद्धवृद्धालाई सास्ती भएको छ । भिजिबिलिटी कम भएकाले सवारी चालकहरूलाई सवारी चलाउन अप्ठेरो भइरहेको छ ।

तातो पेय चिया कफी तथा न्यानो कपडा र ब्ल्यांकेट आदिको बिक्री पनि बढेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरका ३२ वटै वडामा सार्वजनिक स्थलमा बटुवा तथा सर्वसाधारणलाई राहत दिन आगो ताप्ने दाउराको व्यवस्था गरेको जनाएको छ । भिजिबिलिटी कम हुँदा हवाई सेवा पनि प्रभावित भएको छ ।

शीतलहर बढेसँगै वृद्धवृद्धा र बालबालिकहरू बढी प्रभावित भएका छन् । नारायाणी अस्पताल वीरगन्जका चिकित्सक उदय सिंहले चिसोका कारण अस्पतालमा बिरामीहरूको चाप पनि बढेको बताउनुभयो । उहाँले चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनुपर्ने र प्रशस्त झोलिलो खानेकुरा खान सुझाउनुभएको छ ।