पूर्वप्रधानमन्त्री कृष्णप्रसादको स्मृतिमा कराते प्रतियोगिता हुने

0
Shares

काठमाडौं । 

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता निरन्तर रूपमा आयोजना होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रमुख डोजो लखनखेल र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । गोदावरीका प्रमुख गजेन्द्र महर्जन र डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अर्को वर्ष चीनमा आयोजना हुने एसियाली खेलकुदको तयारीलाई समेत टेवा पु-याउने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा महिला र पुरुषमा गरी १७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनि, ६८ के.जी. माथि, काता र टिम काता तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५ ८४ केजी मूनी, ८४ केजी माथी काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ प्रदेश र ३ विभाग (सेना, प्रहरी र सशस्त्र प्रहरी) गरि १० टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । हरेक टोलीबाट २१ गरि २ सय १० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा मुख्य सल्लाकार समेत रहेका बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले प्रतियोगितालाई सफलता पार्न विगतमा जस्तै सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले कराते खेलाडीसमेत रहेका महर्जनको बागमती प्रदेशमा प्रवेशले खेलकुदको समग्र विकासमा थप टेवा पुग्ने विश्वास लिएको बताएका छन् । गोदावरीका नगरप्रमुख महर्जनले प्रतियोगिताको व्यावसायिक खेलाडी तयार पार्नका लागि निरन्तर प्रतियोगिता आयोजना हुन सकोस् भन्नेका लागि गोदावरी नगरपालिकाले सहकार्य गरेको जानकारी दिए ।

कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका निष्ठावान राजनीतिज्ञ रहेको नयाँ पुस्तालाई जानकारी दिन पनि यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने मेयर महर्जनले बताए ।डोजोका अध्यक्ष श्रेष्ठले विगतमा भन्दा प्रतियोगिता अझै व्यवस्थित र भव्य बनाउन सबैको सहयोग आवश्यक रहेको औल्याए । उनले यो प्रतियोगिताले एसियाली खेलकुदको तयारीलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगिता सञ्चालनका लागि झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कराते नेपाली खेलकुदको सफल खेलमध्येको एक हो । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण सम्म आइपुग्दा करातेले ३० स्वर्ण पदक जितिसकेको छ । तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जित्दा १० स्वर्ण पदक करातेले दिलाएको थियो । त्यस्तै, सन् १९९४ हिरोसिना एसियाड, १९९८ बैंकक एसिमाङ र २०१४ एसियाडमा समेत पदक जितेको थियो ।