काठमाडौं र लुम्बिनीको जितबाट सुरुवात

0
Shares

काठमाडौं  । 

शनिबारदेखि शुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टार्सले शानदार जित हासिल गरेका छन् । त्रिवि मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २५ रनले र लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएका हुन् । काठमाडौंले पहिले ब्याटिङ गर्दै १ सय ६२ रन जोडेको थियो । टोलीका लागि आजमतुल्लाह ओमरजाईले सर्वाधिक ८५ रन बनाए । ओमरजाईले मात्र २७ रनमा अर्धशतक पूरा गरेका थिए । उनको यो विजयी इनिङमा ७ छक्का र ३ चौका सामेल थिए ।

जवाफमा पोखरेली टोलीले १ सय ३७ रन मात्रै बनाएको थियो । टोलीका लागि उपुल थारांगाले सर्वाधिक ४४ रन जोडे पनि जित दिलाउन सकेनन् । काठमाडौंका बलरमा अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । बसिर अहमदले २ विकेट लिएका थिए ।अर्को खेलमा लुम्बिनीलाई जित दिलाउन कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य तेस्र्याएको लुम्बिनीले फारवेस्टलाई ८५ रनमै समेटेको थियो । कप्तान हशमतुल्लाह शाहिदीले सर्वाधिक ३५ रन बनाए भने विकेटकिपर विनोद भण्डारी १३ रनमै आउट भए ।

अन्यमा लुम्बिनीका बलरले घातक बलिङ सामु फारवेस्टका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर देव खनाल ९, हरिशंकर शाह शून्य, भीम सार्की तीन, वसन्त कार्की दुई, राशिद खान एक, उमेर अली चार र करण केसी एक रनमा आउट भए ।लुम्बिनीका कप्तान दीपेन्द्रले २.२ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले एक(एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले ५० बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । गुलशन झा ३ छक्काको सहयोगमा २५ रन बनाएर रन आउट भए । अन्तिम ओभरमा एक रन आउट सहित करण केसीले मात्रै ६ रन खर्चिएर कुल तीन विकेट लिए । दीपेन्द्र ३५ रनमा उमेर अलीको बलमा एलबीडब्लू आउट भए । दीपेन्द्रले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।