सबै खोला किनाराको अवैध संरचना भत्काउन शुरू

अनामनगरस्थित देवी नगरमा डोजर चल्यो

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवी नगरमा डोजर चलाएको छ । खोलाको मापदण्ड मिचेर बनाइएका संरचना खाली गर्न कामपाले पटकपटक दिएको चेतावनीलाई अटेर गरेपछि कामपाले बुधबार डोजर चलाएको हो ।

कामपा प्रहरीले यसअघिको घटनाबाट सिक्दै प्रहरीमाथि हुनसक्ने आक्रमण रोक्न सबै प्रहरीलाई सुरक्षा कवच व्यवस्था गरिएको थियो । यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन गएका कामपा प्रहरीमाथि सांघातिक आक्रमण भएको थियो ।अवैध संरचना हटाउन कामपा नक्सा विभागले गरेको सिफारिसलाई कामपा प्रमुख बालेन्द्र साहले स्वीकृत गरेपछि संरचना भत्काइएको हो ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पहिलो चरणमा ५० मिटर लामो क्षेत्रका संरचना हटाइएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘५ वटा सटर, ६ वटा गेट र त्यतिकै संख्यामा घर कम्पाउन्ड भत्काइएको छ । घरका सामान निकाल्न केही दिन समय दिएका छौं, त्यसपछि फेरि घरभित्रै डोजर चलाउनेछौं ।’ कामपा प्रमुख साहले निर्णय गरेपछि थप संरचना भत्काइने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अहिले भत्काएका संरचना खाली नगरे फेरि डोजर लिएर तत्काल भत्काइने छ ।’ कामपाले धोबीखोलाबाहेक मनोहरा, विष्णुमती, इच्छुमती, वागमती खोला किनारामा बनाइएका सबै अवैध संरचना हटाउने गरी योजना तयार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी, प्रहरी प्रमुख पाण्डे, नगर प्रहरी उपरीक्षक दिनेश अर्याल, वडाका इन्जिनियर, कामपा नापी अधिकृत उत्तम भट्टराईसहितको टोली फिल्डमा पुगेको थियो । संरचना भत्काउँदा नापी विभागको टोलीको उपस्थिति रहेको थियो । कामपाले महानगरको क्षेत्रभित्र पर्ने धोबी खोलाका सबै अवैध संरचना हटाउन थालेको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार नेपाल प्रहरीको समेत सहयोग लिएर संरचना हटाउन थालिएको हो । उहाँले भन्नुभयो– ‘सबै प्रमाणसहित अवैध संरचना हटाउन थालेका हांै । हामी यो भन्न चाहन्छौं कि खोला किनारमा बनाइएका सबै संरचना तत्काल हटाउनुहोला ।’

महानगरले साउन १ गते सूचना जारी गर्दै सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो । साउन १ गतेदेखि सूचना जारी गर्दा अटेर गरेपछि नापी विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, वडा कार्यालय र स्थानीयको सहयोगमा संरचना हटाइएको महानगरको भनाइ छ ।
महानगरले अवैध संरचनाहरूको सबै विवरण संकलन गरी ती संरचना हटाउन शुरू गरेको जनाएको छ । मापदण्डअनुसार खोला किनाराको दायाँबायाँ २५ मिटर छाड्नुपर्ने व्यवस्था छ ।

सरकारी मापदण्ड उल्लंघन गर्दै भनसुनको आधारमा केहीले मापदण्ड मिचेर संरचना निर्माण गरेका थिए । यसअघि शहरी विकासमन्त्री मेटमणि चौधरीले खोला किनारामा बनेको अवैध संरचना हटाउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो । मन्त्रालयको निर्देशन र नापी विभागका मापदण्डको आधारमा अवैध संरचना हटाइएको कामपाको भनाइ छ । मापदण्डअनुसार धोबीखोलाको दायाँबायाँ ९ मिटर क्षेत्र छाड्नुपर्ने व्यवस्था छ ।
यसैबीच काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले काठमाडौं महानगरपालिकाभित्र बग्ने सबै खोला किनाराका अवैध संरचना हटाउन शुरू गरेको बताउनुभएको छ ।

बुधबारबाट धोबीखोला करिडोरको अवैध संरचना हटाउन थालेको महानगरले सबै खोला किनाराको अवैध संरचना हटाउने स्पष्ट पारेको छ । प्रवक्ता मानन्धरले कामपाले पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि हिजोबाट अवैध संरचना हटाउन शुरु गरिएको जानकारी दिँदै भन्नुभयो– ‘अब कहिलेसम्म भत्काउने ? भन्ने प्रश्नै छैन, हामी महानगरभित्र बग्ने खोला किनाराको अवैध संरचना नहटाएसम्म निरन्तर काम गर्नेछौं ।’ उहाँका अनुसार धोबीखोला, विष्णुमती, वागमती, मनोहरा, इच्छुमतीलगायत सबै खोला किनाराका अवैध संरचना हटाएरै छाड्ने बताउनुभयो ।

कामपाका पाँच उच्च अधिकारीको सरुवा
काठमाडौंं महानगरपालिकाले पाँच उच्च अधिकारीको सरुवा गरेको छ । मेयर बालेन्द्र साहको सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतले पाँच निर्देशकलाई सरुवा गर्नुभएको हो । सरुवा हुनेमा प्रशासन विभागका प्रमुख महेश काफ्ले, गोपाल पोखरेल, यादव घिमिरे, नूरनिधि न्यौपाने र दीपक अधिकारी रहनुभएको छ ।

काफ्लेलाई प्रशासन विभागबाट सार्वजनिक निजी साझेदारी कार्यक्रम(पीपीपी), अधिकारीलाई प्रशासन विभाग, गोपाल पोखरेलाई सामाजिक विकास विभाग, घिमिरेलाई आन्तरिक लेखा परीक्षण र न्यौपानेलाई मेयर सचिवालयमा सरुवा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी भारत भ्रमण जानुअघि मंगलबार ती उच्च कर्मचारीलाई सरुवा गरिएको हो ।