सांसदहरूको शपथ ग्रहण आज

0
Shares

काठमाडौं । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आज बिहीबारका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

उहाँलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधानअनुसार जबराले शपथ लिनुभएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा बस्ने गरी बिहीबार दिउँसो १२ बजे सर्वदलीय बैठक आह्वान गरिएको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने बाह्रै वटा राजनीतिक दलका नेताहरूलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रत्येक दलबाट एक-एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ । बैठकमा सचिवालयका महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले शपथसम्बन्धी कार्यक्रम र सांसदले पाउने सेवा सुविधालगायत विषयमा सांसदहरूलाई जानकारी दिनेछन् ।