कैलालीमा फेरि गोली चल्यो, एक घाइते



धनगढी ।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा फेरि गोली चलेको छ। मंगलबार जिल्लाको धनगढीमा गोली चलेको हो।नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज बिहान दुई राउण्ड गोली चलेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। गोली लागेर शिवरामनगर टोलका स्थानीय प्रजापति विष्ट घाइते भएका हुन्।घाइते विष्टले घरमा चोरी गर्न आएको समूहको गोली प्रहार गरेको र आफूले प्रतिकार गर्न खोज्दा चोरहरूले गोली चलाएको दाबी गरे।

यस्तै उनले घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेको बताए। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूले अर्को राउन्ड फायर गरेका थिए।

यता प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।यसअघि कैलालीकै अत्तरियामा गोली चलेको थियो। गोली लागेर त्यहाँ एक सुन व्यापारी घाइते भएका थिए। सो घटनाको पनि छानबिन जारी छ।

प्रतिक्रिया दिनुहोस्