‘इन्सपाइरेसन’ र ‘डिभाइन’ : नेपाल भाषाको कथा अब अंग्रेजीमा

0
Shares

काठमाडौं।

नेपाल भाषाका कथाकारहरूको उत्कृष्ट कथाहरू अब अंग्रेजी भाषामा पनि पढ्न पाइने भएको छ । नेपाल भाषाका कथाहरूको अनुवाद संग्रह ‘इन्सपाइरेसन’ र ‘डिभाइन’ को शनिबार राजधानीमा लोकार्पण गरिएको छ । नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशित गरेको पाँच सयभन्दा बढी नेपाल भाषाको कथाहरूमध्येबाट छानेर अंग्रेजी भाषामा अनुवाद गरी दुई वटा पुस्तकको रुपमा प्रकाशन गरेको हो ।

२३ वटा कथा समेटिएको इन्सपाइरेसनमा छ दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा सक्रिय साहित्यकार स्वर्गीय लक्ष्मण राजबंशीको ‘आइ रिग्रेट माई फोली’ शिर्षकको कथा पनि समेटिएको छ । पुस्तक लोकार्पण समारोहमा बाखं दबूका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण राजबंशी र अंग्रेजी अनुवादका कथाहरू छान्न मूख्य योगदान दिएका साहित्यकार ईन्द्र मालीप्रति पुस्तक अर्पण गरिएको थियो ।

समारोहमा बोल्दै दुबै पुस्तकका सम्पादक मण्डलीका लोचनतारा तुलाधरले अंग्रेजी अनुवादको पुस्तक निकाल्ने काम शुरु हुँदै गर्दै संस्थापक अध्यक्ष राजबंशी र कथा छान्ने काम गरिरहेका मालीको निधनले अंग्रेजी अनुवाद निकाल्ने परियोजना नै झण्डै अलपत्र परेको जिकिर गर्दै स्व. राजबंशी र स्व. मालीको अधुरो काम आज पूरा भएकोमा आफूहरू निकै हर्षित भएको बताउनुभयो । उहाँले यी दुई पुस्तकले साहित्यप्रेमी विदेशीहरूलाई पनि नेवा साहित्यको बारेमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा डा. बालगोपाल श्रेष्ठले नेवा: सभ्यता र संस्कृतिलाई विश्वमा चिनाउन नेपाल भाषाका कथाहरूको ठूलो योगदान रहने उल्लेख गर्दै यी कथाहरूलाई अंग्रेजी अनुवाद गरेर दबूले प्रशंसनीय काम गरेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार भुषणप्रसाद श्रेष्ठ र डा. सर्वोत्तम श्रेष्ठका साथै पुस्तक प्रकाशनमा आर्थिक सहयोग पुर्‍याउने सिद्धार्थ वनस्थली ईन्स्टिच्युटका प्राचार्य रुपक राजबंशी र बसुन्धरा तुलाधरलाई सम्मान गरिएको थियो । प्राचार्य राजबंशीले आफ्नो बुबाको अधुरो कामलाई पूरा गर्न सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अंग्रेजीमा अनुवादित नेपाल भाषाका कथाहरू लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।

इन्सपाइरेसनमा साहित्यकार स्व. राजबंशीका साथै नेपाल भाषाका साहित्यकारहरु नर्मदेश्वर प्रधान, मथुरा सायमी, सुवर्णकेशरी चित्रकार, शरद कसा:, मीना बज्राचार्यलगायत २३ जनाको कथा समेटिएको छ । त्यस्तै डिभाइनमा नेपाल भाषाका साहित्यकारहरू अमिर मैयाँ रञ्जित, अपर्णा प्रधान, विजयरत्न अंसबरे, ध्रुब मधुकर्मी, बुद्ध नेवालगायत ३१ जनाको कथा समेटिएको छ ।