बेनीमा सातौं म्याग्दी महोत्सव आयोजना, स्थानीय उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवर्द्धन गरिने

0
Shares

म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला लाग्ने भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आउँदो पुस अन्तिम सातादेखि महोत्सव गर्न लागिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७९ आयोजना गरिएको संघले जनाएको छ । यसवर्ष पुस महिनाको २८ गतेदेखि माघ ७ गतेसम्म (१० दिन) सातौं संस्करणको म्याग्दी महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको संघका अध्यक्ष कटुवालले बताउनुभयो । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ ।

यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा -याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ ।

म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष कटुवालको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित विभिन्न ३९ वटा उपसमितिहरु गठन गरेर महोत्सवको तयारीलाई अगाडि बढाइएको छ । महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ । म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो ।

 

हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो । यसअघि २०६०, २०६२, २०६५, २०६८, २०७१ र २०७४ सालमा म्याग्दी महोत्सव तथा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६९, २०७०, २०७२ र २०७३ सालमा सडक खाना महोत्सव एवं माघेसङ्क्रान्ति मेला लगाइएको थियो ।