विकटमा वषौंपछि निःशुल्क आँखा शिविर

तीन जिल्लाका नागरिकले लिए सेवा

0
Shares

दैलेख ।

दैलेखको पश्चिम क्षेत्रमा रहेको दुर्गम आठबीस नगरपालिकामा धेरै वर्षपछि आँखा शिविर सञ्चालन हँुदा नागरिकले राहत महसुस गरेका छन् । आठबीस नगरपालिकाले आयोजना गरेको आँखा शिविरमा हजारौं नागरिकले सेवा लिएका थिए ।

सावि आँखा अप्रेसन गरेका वृद्धवृद्धाले आफूहरुले सुन्दर संसार हेर्न पाउँदा पुनर्जन्म भएको महसुस गरेको बताएका छन् । उनीहरुले आफूहरुका लागि आँखा अप्रेसन गर्ने डाक्टर नै भगवान् भएर आएको बताउँछन् । ‘माथिको डाँडा मिलाएर मैदान बनाएजस्तै मन चंगा भएको छ । एकचोटी जन्मिँदा आँखा खुलेको थियो भने आज फेरि बन्द भएका आँखा खुलेका छन्, लाग्छ कि हाम्रो पुनर्जन्म भयो ।’ –अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का ८२ वर्षीय भट्टे भुलले भन्नुभयो ।

त्यस्तै, सोही ठाउँकी ७७ वर्षीय मौरे वडको पनि खुसीको सीमा छैन । ‘घरदैलोमा नै आँखा खुले, भगवान् खोज्न कहाँ जानु र ! यिनै डाक्टर हाम्रा लागि भगवान् हुन् ।’ –उहाँको कथन छ ।कर्णाली अञ्चलकोे प्रवेशद्वारका रूपमा रहेको आठबीस नगरपालिका दैलेख, कालिकोट र सुदूरपश्चिमको अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको छ ।

नेपाल नेत्र ज्योति संघको सहयोग र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट तीन जिल्लाका नागरिकले आँखा परीक्षण गराएका थिए । शिविरबाट छनोट गरिएका करिब २ सय वृद्धवृद्धाको मोतिबिन्दुको सफल अप्रेसन पनि गरिएको छ ।
‘लामो समयसम्म यस क्षेत्रमा आँखा कुनै स्वास्थ्य शिविरको आयोजना गरिएको थिएन, नगरपालिका स्थरबाट हामीले आँखा शिविरको आयोजना गरेका हौं’, आठबीस नगरपालिका स्वास्थ्य शाखाका निमित्त गोविन्द शाही भन्नुहुन्छ– ‘अछामदेखि कालिकोटसम्मका नागरिकले सेवा लिए, करिब २ सय जनाको त आँखा अप्रेसन पनि गरियो । बिरामीलाई निःशुल्क खाने–बस्ने व्यवस्था पनि गरेका छौं ।’

समाजमा शान्ति र जनता स्वस्थ नभएसम्म समाजको प्रगति नहुने भएकाले वृद्धवृद्धाका लागि आँखा शिविर राखिएको आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताउनुभयो । आगामी दिनमा पनि थप स्वास्थ्य शिविर आयोजना गरिने उहाँको भनाइ छ ।दैलेख कालिकोट र अछाम जिल्लाको संगममा रहेको आठबीसको राकमकर्णालीमा आँखा शिविर सञ्चालन गरिएको थियो ।