महिला कैदीबन्दीलाई मनोपरामर्श

0
Shares

तनहुँ । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीलाई मानसिक सचेतना कार्यक्रम गरिएको छ । महिला कैदीबन्दीका लागि मानसिक तनावको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले आइतबार मानसिक सचेतना कार्यक्रम गरिएको हो ।

कारागारमा रहेका १४ महिला कैदीबन्दीलाई कोशिस नेपालका मनोविद सीता भण्डारी र आरती अधिकारीले परामर्श दिनुभएको थियो ।

उनीहरुलाई विचलन भएको मनलाई व्यवस्थापन गर्ने विधि प्रयोगात्मक रूपमा सिकाइएको छ । क्रियाशील पत्रकार महिलाका केन्द्रीय सदस्य सोनी शर्माले कारागारमा रहेका कैदीबन्दीले मानसिक विचलनले गर्दा नै आपराधिक क्रियाकलापमा संलग्न भएर सजायको भागिदार बनेकाले उनीहरुको मानसिकतामा व्यवस्थापन गर्न सहयोग पु-याउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ‘मानसिक विचलनले मानिसलाई आपराधिक घटनातर्फ उन्मुख गराएको हुन्छ ।

उनीहरुमा हुने यही मानसिकता परिवर्तनमा सहयोग पु¥याउनुपर्छ भन्ने विषयलाई मध्यनजर गरी सचेतना र परामर्श आवश्यकता पर्छ । परामर्शको माध्यमबाट नै उनीहरुलाई असल नागरिक बनाउन सहयोग पु¥याउनुपर्छ ।’ –उहाँको भनाइ छ ।कोशिस तनहुँका परियोजना संयोजक महेन्द्र आचार्यले मानसिक विचलन भएका व्यक्तिलाई मनोपरामर्शको सचेतनाको अभावले अपराधिक गतिविधिमा संलग्न हुने भएकाले मनलाई व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।

तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले कैदीबन्दीको मानसिक सन्तुलनका लागि सीपमूलक तालिमको व्यवस्थापन गरिएको बताउनुभयो । मनोपरामर्शले कैदीबन्दीको मानसिक समस्या न्यूनीकरण तथा व्यवस्थापन गर्ने अधिकारीको अपेक्षा छ ।

सचेतना कार्यक्रममा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । सिटामोल, रुघाखोकी, जीवनजललगायतका औषधिसमेत कैदीबन्दी वितरण गरिएको थियो । महिला कैदीबन्दीका लागि अत्यावश्यक सामग्रीका रूपमा रहेको १ सय थान सेनेटरी प्याड पनि वितरण गरिएको छ ।

कोशिस नेपाल, क्रियाशील पत्रकार महिला तनहुँ, सञ्चारिका समूह नेपाल तनहुँ, सामाजिक विकास कार्यालय तनहुँ, एकद्वार संकट व्यवस्थापन संयन्त्र सेवा केन्द्र (ओसीएमसी)को संयुक्त आयोजना तथा जिल्ला कारागार कार्यालय तनहुँको समन्वयमा मानसिक सचेतना कार्यक्रम गरिएको हो ।