७ दिन बित्दा समेत मतगणना हुन सकेन



स्याङ्जा । 

स्याङ्जा क्षेत्रनम्बर २ मा ७ दिन बित्दासमेत मतगणना हुन सकेको छैन । कहिले र कति बेला शुरू हुन्छ भन्नेमा अन्योल छ । चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बुथ कब्जा गरेर कांग्रेसले मत खसालेको एमालेको आरोप छ ।

यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ । चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाउनुभएको छ । निष्पक्ष रूपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गर्नुभयो । विगत १ सातादेखि धाँधली भएको बुथमा पुनः निर्वाचन हुनुपर्ने माग गर्दै एमालेले आन्दोलन गरिरहेको छ भने तत्काल मतगणना गर्न भन्दै कांग्रेस धर्ना बसिरहेको छ । दुवै पक्षको आन्दोलन वालिङमा जारी छ ।

निर्वाचन विधिपूर्वक, सौहार्दरूपमा सम्पन्न भएको नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले प्रतिक्रिया दिनुभयो । नियमसंगत ढंगबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको र मतपेटिका आएको उहाँले बताउनुभयो । आफूहरू मतगणना हुनुपर्ने माग गर्दै धर्ना बसिरहेको काफ्लेले बताउनुभयो ।नेकपा एमालेका नेता एवं स्याङ्जा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्माकुमारी अर्यालले आफूहरूको लडाइँ विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा निर्वाचन आयोगको प्रतिनिधिसँग छलफलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै एमाले नेता अर्यालले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘विधिसम्मत चुनाव भएन । हाम्रो लडाइँ भनेको पदको होइन, विधिको लडाइँ हो । कानुनको लडाइँ हो । त्यसैले जनताले ठीक तरिकाले बालिग मताधिकारको प्रयोग गर्न पाउनुप¥यो । चापाकोटमा डकैती खालको चुनाव भयो, लुटपाटपूर्ण चुनाव भयो । त्यसैले त्यो चुनाव खारेज गरेर अर्को निर्वाचन गराइनुपर्छ भन्ने हाम्रो माग हो ।’

‘जुन मतदाता हो, त्यसले भोट हाल्न पाउनुप¥यो । वास्तविक मतदाताले भोट हाल्न पाएनन्’ –उहाँको गुनासो थियो । अर्यालले चापाकोटमा अनुपस्थित मतदाताको नाममा पनि भोट हालिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘विदेश हुने र मरेको मानिसको पनि भोट हालिएको छ । यसले स्याङ्जाको शिर झुकेको छ । लोकतन्त्रको उपहास भएको छ । त्यसैले विधिसम्मत् चुनाव गराइयोस् ।’

प्रतिक्रिया दिनुहोस्