दरबारमार्ग र न्युरोडको सःशुल्क पार्किङ हटाउने तयारी

कामपा भन्छ : बेसमेन्टमा पार्किङ गर्ने व्यवस्था मिलाउँदै छौं

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले न्युरोड र दरबारमार्गको सःशुल्क पार्किङ हटाउने भएको छ । न्युरोड र दरबारमार्ग क्षेत्रका ठूला भवनमा रहेका बेसमेन्टमा पार्किङको व्यवस्था गरेलगत्तै ती दुई क्षेत्रको पार्किङ हटाउने भएको हो ।

कामपाले मङ्सिर २२ गतेपछि काठमाडौं मलको बेसमेन्ट खाली गर्ने र सो क्षेत्रमा न्युरोड क्षेत्रको पार्किङ व्यवस्था गर्ने गरी सःशुल्क पार्किङ हटाउन लागेको हो । ‘घण्टे पार्किङका नाममा लाखौं रुपियाँ उठाएको गुनासो आउन थालेपछि सार्वजनिक क्षेत्रमा सःशुल्क रूपमा राखिएका सबै पार्किङ हटाउन लागेका हौं’ –कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

बेसमेन्ट खाली गर्न सूचना जारी गरेको ९० दिन पूरा भएलगत्तै ठूला भवनमा फेरि कारबाही शुरू गरेर ती भवनमा पार्किङ व्यवस्थापन गर्न लागेको उहाँको भनाइ थियो । कामपाले सार्वजनिक स्थान खाली गर्न दिएको अन्तिम म्याद यही २२ गते पुग्दै छ । ‘हामीले तीन महिनासम्म आफैं हटाउन सूचना जारी गरेका थियौं, मङ्सिर २२ गते समय सकिनासाथ बेसमेन्ट खाली गर्न फेरि कारबाही शुरू गर्नेछांै’ –प्रहरी प्रमुख पाण्डेको भनाइ थियो ।

कामपाले न्युरोड, पुतलीसडक, वागबजार, बालाजु, बानेश्वर, कोटेश्वर, सोह्रखुट्टे, दरबारमार्ग, माछापोखरी, कलंकी, कालिमाटी, कुलेश्वर, चाबहिल, गौशाला, पुरानो बानेश्वरलगायत व्यापारिक क्षेत्रमा रहेको ठूला भवनको बेसमेन्टमा पार्किङ गर्न मिल्ने गरी सडकको पार्किङ हटाउन लागेको हो । २२ गतेसम्म पर्खिने र त्यसपछि पनि बेसमेन्ट र नक्सा पास नगरी बनाएका संरचना नहटाएर पुनः कारबाही गर्ने पाण्डेको भनाइ थियो ।

कामपाले बेसमेन्ट र नक्साविपरीत बनाएको संरचना नभत्काए सम्बन्धित निकायको खर्चमा भत्काउने तयारी गरेको छ । कामपाले हालसम्म बेसमेन्ट र नियमविपरीत संरचना नहटाउने भवनको सूची तयार पारेको छ । कामपाले सम्बन्धित वडा कार्यालयको समन्वयमा नियमविपरीत बनेका भवनको तथ्यांक संकलन जारी राखेको छ ।

कामपाका प्रमुख बालेन्द्र साहले राजधानीको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न सबै निकायलाई निर्देशन दिनुभएको छ । सोही निर्देशनको आधारमा महानगर प्रहरीले राजधानीको ठूला भवनको पार्किङ गर्न मिल्ने गरी बेसमेन्टको तथ्यांक संकलन गरिसकेको छ ।

यसैबीच कामपाले सबैभन्दा बढी भिडभाड हुने बागबजार र प्रदर्शनीमार्गको सडक पार्किङ हटाउन शुरू गरेको छ । प्रहरी प्रमुख पाण्डेले सवारी जाम नियन्त्रण गर्न र ठूला भवनको बेसमेन्टमा पार्किङ व्यवस्थापन गर्न सडक किनारामा राखिएको सवारीसाधन हटाउन शुरू गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘निर्वाचनलगत्तै सडक किनारामा राखिएका सवारीसाधन हटाउन थालेका हौं ।’ उहाँका अनुसार कामपा प्रहरीले विगत दुई दिनयता वागबजारबाट मात्रै दैनिक ३ सयको हाराहारीमा सवारी कारबाहीमा परेको छ । बाटोमा पार्किङ गरेबापत महानगरले एक हजार रुपियाँ जरिवाना गर्ने गरेको छ ।

कामपाले प्रदर्शनी मार्ग, वागबजार, बानेश्वर, कोटेश्वरलगायत क्षेत्रका सडकमा पार्किङ गरिएका सवारीमध्यै दैनिक करिब ५ सयको हाराहारीमा कारबाही गर्ने गरेको छ ।सवारी चालकले बेसमेन्टमा सवारी राख्ने बानी बसाल्नकै लागि कारबाही प्रक्रिया अघि बढाएको कामपा प्रहरीको भनाइ छ । यसैबीच ललितपुर महानगरपालिकाले सःशुल्क पार्किङ गर्ने व्यवस्थाको चर्को विरोध गरेपछि ललितपुर क्षेत्रको सबै पार्किङ निःशुल्क गरेको थियो ।