फेरी बज्याे दुर्लुङमा विजयकाे बाजा

0
Shares

पर्वत । 

राजनैतिक दलका नेता र मन्त्रीको गाउँ भनेर चिनिने दुर्लुङमा शुक्रबार छुट्टै रौनक थियो । कुस्मा नगरपालिका–३ दुर्लुङका हरेक बस्ती र टोलमा स्थानीयबासी फूलमाला र अबिर बोकेर उभिएका थिए भने धेरैजसो त बाजागाजासहित गाउँ परिक्रमा गरिरहेका थिए ।

दुर्लुङ गाउँमा पाँच वर्षपछि यसरी जनताले विजयको खुसीयाली बाँड्दै थिए त्यसको कारण थियो प्रतिनिधिसभामा दुर्लुङका बासिन्दा पदम गिरीको विजय । गिरीले पर्वतबाट प्रतिनिधिसभामा दोस्रोपटक विजय भएपछि गाउँमा पुग्दा भव्य स्वागत गरेका छन् । गिरीलाई सल्यानदेखि देउराली हुँदै दुर्लुङकोट पुगेर चनौटे गाउँ हुँदै काफलचौरसम्म गाउँलेले बाजागाजासहित स्वागत गरेका थिए भने भव्य विजय जुलुससमेत निकालेका थिए ।

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका रूपमा क्षेत्रबहादुर गुरुङको विजयपछि साविकको दुर्लुङ गाविसका बासिन्दाले संसदीय राजनीतिमा विजय हासिल गरेका थिएनन् । तीन दशकपछि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दुर्लुङका बासिन्दालाई दोस्रोपटक पनि खुसी फर्काइदिएका हुन् । स्थानीयबासीले भन्दै थिए– ‘सांसद र मन्त्रीको डाँडा हो दुर्लुङ भनेर फेरि साख फर्किएको छ ।’ दुर्लुङ गाउँमा जन्मेकाहरूले जिल्लाको राजनीतिमा आफ्नो प्रभुत्व जमाउँदै आएका पनि छन् तर पहिले पहिले सांसदको डाँडो भनिने दुर्लुङ संसदीय राजनीतिमा भने पछिल्लो समय पद आएको २०७४ मा प्रत्यक्ष मात्रै होइन समानुपातिकमा समेत नेपाली कांग्रेसबाट लालकाजी गुरुङ सांसद बनेर त्यो रेकर्ड तोडिएको थियो ।

त्यसअघि पनि दुर्लुङ घर भएका उम्मेदवारहरूले चुनाव नलडेका भने होइनन् । २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सदस्य पदका उम्मेदवार नवराज गुरुङ नेकपा (एमाले) का कृष्णप्रसाद भट्टराईसँग पराजित भए । गुरुङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पर्वतको क्षेत्र नं २ मा पुगेर चुनाव लडे तर एमालेका विकास लम्सालसँग पनि पराजय भोगे ।

२०७४ मा प्रदेश ‘क’ मा नै चुनाव लडेका नवराज गुरुङले भने माओवादी केन्द्रका नेत्र अधिकारीसँग पराजित हुँदै हारको ह्याट्रिक नै पूरा गरे । २०४८ पछि २०५६ को संसदीय निर्वाचनसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पूर्वसहायकमन्त्री क्षेत्रबहादुर गुरुङले पनि चुनाव लडेका थिए तर चुनाव जित्न सकेका थिएनन् । पदम गिरीले तीनपटक पर्वतमा निर्वाचन जितेर चुनाव नहार्ने उम्मेदवारको पहिचान बनाएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई १२ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गरेर दुर्लुङमा विजयको शृंखला शुरू गरेका गिरीले यसपटक पनि जोशीलाई २ हजार २ सय ६३ मतान्तरले जित निकाल्न सफल भएका थिए ।

गएको निर्वाचनमा गिरी विजय भएपछि कच्ची सडक गाउँसम्मै पक्की भएको छ । खानेपानी, पर्यटन, विद्यालय भवनदेखि धेरै क्षेत्रमा परिवर्तन भएको छ । यसले गर्दा पनि दुर्लुङबासी खुसीले गदगद देखिएका थिए । विजयपछि गाउँ पुग्दा आफन्त र छिमेकीले गरेको स्वागतपछि गिरीले भन्नुभयो– ‘यो गाउँमा मात्रै नभई समृद्धिको पक्षमा मैले जिल्लालाई नै नमुना बनाउने गरी काम गर्छु ।’

जनताले दिएको मतलाई खेर जान नदिने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो । पाँच वर्षमा पर्वतका मुख्य सडक कालोपत्रे गर्ने, खानेपानी, विद्युत्, सिँचाइका क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै अधूरा योजना पूरा गरेर समृद्ध पर्वत बनाउने आफ्नो लक्ष्य भएको बताउनुभयो ।