रूपन्देहीको प्रतिनिधि सभामा कांग्रेस शून्य

0
Shares

बुटवल । 

नेपाली कांग्रेसले रूपन्देहीमा प्रतिनिधि सभातर्फ शून्य भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा प्रतिनिधि सभामा एउटा पनि सिट जित्न सकेन ।

गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाँणले समेत आफ्नो सिट सुरक्षित गर्न सक्नुभएन । रूपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रूपन्देहीमा प्रतिनिधिसभामा एमाले ३, राप्रपा १ र लोसपाले १ क्षेत्रमा विजयी भएका छन् । रूपन्देहीमा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्र १० छन् ।

लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा कुल जनसंख्या ८ लाख ७४ हजार ६ सय ६ रहेको छ । यहाँ ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका छन् जसमा ३ लाख २७ हजार ४ सय ३३ जना पुरुष छन् भने ३ लाख ११ हजार ५ सय ११ जना महिला छन् ।

रूपन्देही १ मा घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका सचिव छविलाल विश्वकर्मा विजयी हुनुभएको छ । त्यस्तै, रूपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । त्यस्तै, रूपन्देही ३ बाट राप्रपा उपाध्यक्ष दीपक बोहोरा विजयी हुनुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई बोहोराले पराजित गर्नुभएको हो ।

त्यस्तै, रूपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ । उहाँले कांगे्रसका प्रमोद यादवलाई पराजित गर्नुभएको हो । त्यस्तै, रूपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरले कांगे्रसका प्रभावशाली नेता भरतकुमार शाहलाई निकै फराकिलो मतान्तरले हराउनुभएको छ । यसरी रूपन्देही जिल्लामा नेपाली कांगे्रसको प्रतिनिधि सभामा उपस्थिति शून्य भएको छ ।