काठमाडौं ।
प्रतिनिधि सभा निर्वाचनमा होमिएका एकदर्जन मन्त्रीमध्ये ५ मन्त्री निर्वाचित भएका छन् भने ६ जनाले हारेका छन् । निर्वाचित भएका मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री मेटमणि चौधरी रहेका छन् ।
पौडेलले वाग्लुङ–२, बडु दार्चुला, श्रम तथा रोजगारमन्त्री कुँवर अछाम–१, शहरी विकासमन्त्री चौधरी दाङ र अर्थमन्त्री शर्मा रूकुम पूर्वबाट निर्वाचित हुनुभएको हो ।
वडुले एमालेका गणेश ठगुन्ना, कुँवरले एमालेका झपट बोहरा, पौडेलले एमालेकी मञ्जु शर्मा, शर्माले एमालेका नन्दराम देवकोटा र चौधरीले एमालेकै शान्ता चौधरीलाई पराजित गर्नुभएको हो ।चुनावी प्रचारमा हिँडेका ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, राज्य मन्त्री उमेश श्रेष्ठ, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), खानेपानी तथा सिँचाइमन्त्री उमाकान्त चौधरी र गृहमन्त्री बालकृष्ण खाँणले हार ब्यहोर्नुपरेको छ । भुसालले ललितपुर–३, उमेश श्रेष्ठले चितवन–२, जीवनराम श्रेष्ठले काठमाडौं–८, गहतराजले बाँके–१, चौधरीले बारा–१ र खाँणले रूपन्देही–३ बाट प्रतिस्पर्धा गर्नुभएको थियो ।
भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की, उमेश श्रेष्ठलाई रास्वपाका सभापति रवि लामिछाने र पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई रास्वपाका विराजभक्त श्रेष्ठले हराएका थिए । संयोगवश हारेका तीनै मन्त्रीले एउटै चुनावचिह्न ‘घण्टी’ भएका प्रतिस्पर्धीसँग हार ब्यहोर्नुपरेको छ ।त्यस्तै, युवा तथा खेलकुदमन्त्री गहतराज एमालेका सूर्यप्रसाद ढकाल, खानेपानी मन्त्री चौधरी एमालेकै अच्युतप्रसाद मैनाली र गृहमन्त्री खाँण एमाले समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरासँग पराजित हुनुभयो ।











प्रतिक्रिया