कांग्रेस एमालेबीच उजुरीकै जुहारी

छानबिन गर्न निर्वाचन आयोगको टोली बाजुरामा

0
Shares

बाजुरा । 

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति बेला बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच उजुरी दिने जुहारी चलेको छ । नेकपा एमालेले ११ वटा बुथ कब्जा गरी एकलौटी मत खसाएको आरोप लगाउँदै नेपाली कांग्रेस बाजुराले उक्त मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ ।

त्यसै गरी नेपाली कांग्रेसले १६ बुथ कब्जा गरी निर्वाचनमा धाँधली निम्त्याएको भन्दै नेकपा एमाले बाजुराले पनि गत साता मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको छ । कांग्रेसको उजुरीमा नेकपा एमालेले जगन्नाथ गाउँपालिकाको वडा न ं२, ४ र ५ का मतदान केन्द्र, बूढीगंगा नगरपालिकाका १, २, ३, ८ र ९ बूढीनन्दा नगरपालिकाको ४ र १० गौमुल गाउँपालिकाको १ र २ नं वडाका मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी एमाले उम्मेदवारविरुद्ध उजुरी दिएको छ ।

नेकपा एमालेले पनि त्रिवेणी नगरपालिकाको त्रिभुवनेश्वरी माविको बुथ केन्द्र, मस्टेश्वरी मावि केन्द्र वडा नं ३, नाटेश्वरी आवि त्रिवेणी ७, नवदुर्गा बुथकेन्द्र वडा नं ८, खप्तड क्षेडेदह गाउँपालिकाको वडा नं २ र ४, बूढीगंगाको ४, ७ र ८ नं वडामा पनि धाँधली भएको जनाएको छ । बूढीनन्दा नगरपालिकाको वडा नं ५ र ७ त्यसै गरी हिमाली गाउँपालिका वडा नं ५, ६ र ९ नं वडाको बुथमा धाँधली भएको भन्दै मुख्य निर्वाचन कार्यालय बाजुरामा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय बाजुराका सहायक निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभएको छ ।

विशेष गरी बाजुरा मुख्य प्रतिस्पर्धी दुइटै पार्टी कांग्रेस एमालेको उजुरी परेपछि निर्वाचन आयोगबाट तीन सदस्यीय टोली गठन गरी बाजुरा पठाएको छ । आयोगका सहसचिव तुल्सीबहादुर श्रेष्ठको नेतृत्वमा आएको छानबिन टोलीले शुक्रबारदेखि नै आवश्यक अध्ययन गरिरहेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभएको छ ।आयोगका प्रतिनिधिले शुक्रबार अपराह्न नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा उम्मेदवारसँग छुट्टाछुट्टै बोलाएर आवश्यक सोधपुछ गरेको छ भने जिल्लास्थित अन्य दलका कार्यकर्तासँग पनि सोधपुछ गरिएको बताइएको छ । त्यसै गरी स्थलगत भ्रमणका सन्दर्भमा प्रहरी प्रशासान तथा सर्वसाधारणसँग पनि सोधपुछ गर्ने बताइएको छ ।

निर्वाचन कार्यविधि २०७८ मा पुनः निर्वाचन गराउनुपर्छ भन्ने कानुनी व्यवस्था छैन । मतदान केन्द्र असुरक्षा महसुस गरी मतदान अधिकृतले तत्काल मतदान स्थगित गरी आएमा आयोगले पुनः निर्वाचन गराउन सक्छ । बाजुराको सन्दर्भमा बूढीनन्दा नगरपालिका वडा नं ५ नन्देश्वरी माविमा आयोगको निर्देशनअनुसार शनिबार दिउँसो शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको अधिकृत अवस्थीले बताउनुभयो । ‘आयोगको टोलीले प्रतिवेदन बुझाउँछ त्यसपछि के निर्णय आउँछ सोहीअनुसार हुन्छ’ – अवस्थीले भन्नुभयो ।

मतदान गरी मतसंख्याको प्रारम्भिक मतको सर्वेक्षण गर्दा उम्मेदवारले चुनावमा धाँधली भएको आरोप प्रत्यारोप गरेका छन् । ‘विधिविधानअनुसार कोही छैनन् । सबै उम्मेदवारले आआफ्नो पकेटक्षेत्रमा एकलौटी गरेका छन् । आरोप प्रत्यारोप बेकार हो’ –नागरिक अगुवा शेरबहादुर शाहीले भननुभयो । पुनः निर्वाचन गराए पनि यस्तै हुने र राज्यको ढुकुटी सक्ने उहाँको कथन छ ।
‘जिल्लामा निर्वाचन भन्नेबित्तिकै कसको ज्यान जाने हो कति अंगभंग हुने हुन् डर लाग्छ, जो भयो भयो अब निर्वाचन नआओस्’ –स्थानीय हर्क सार्कीको भनाइ छ ।

निर्वाचनकै क्रममा बाजुरामा मङ्सिर ४ गते दुई जना युवाले ज्यान गुमाए भने दर्जनौं घाइते भएका छन् । ‘अझ निर्वाचन गराएर कतिको ज्यान लिन खोजेको हो’ –घाइते सन्दीप बोहोराले भन्नुभयो । उहाँले भन्नुभयो– ‘प्रतिनिधिको निर्वाचित गर्नकै लागि जिल्लामा मारकाटको अवस्था सिर्जना हुन्छ, बाजुरामा शान्तिपूर्ण निर्वाचन गर्न कांग्रेस एमालेका नेताकार्यकर्ताले अत्यन्त संवेदनशीलता अपनाउन जरुरी छ । नभए आवधिक निर्वाचनका नाममा सर्वसाधारणको ज्यान लिन पाइँदैन ।’

पुनः मतदान सम्पन्न

बूढीगंगा नगरपालिका–५ नन्देश्वरी माविमा भएको पुनः मतदान शनिबार शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । ९ सय ९९ मतदाता रहेको उक्त केन्द्रमा ५ सय ९७ मतदाताले मतदान गरेका हुन् । ३ सय १२ पुरुष र २ सय ८५ महिलाले मतदानमा भाग लिएका हुन् । बिहान सवा सातबाट मतदान शुरू भएको मतदान कडा सुरक्षाका बीच बेलुकी पाँच बजेसम्म चलेको थियो । मङ्सिर ४ गतेको निवार्चनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडपपछि मतदान स्थगित गरीएको थियो ।