गोरखामा मत कम खस्यो

0
Shares

गोरखा

गोरखा जिल्लामा गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर, यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

मतपेटिकाहरु संकलन गरेर मतगणना स्थलमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । यसपटकको निर्वाचनका लागि जिल्लामा कूल २ लाख २० हजार ६३७ मतदाता कायम भएका थिए । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले र नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफ्नो मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । श्रेष्ठ शनिबार नै गोरखा आउनु भएको थियो भने भट्टराई आइतबार बिहान मात्र गोरखा २ मा आउनु भएको हो ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार आफ्नो निर्वाचन क्षेत्रका मतदान स्थलहरुको निरीक्षण समेत गर्नुभको थियो ।

यस पटक गोरखा २ को उत्तरी क्षेत्र अजिरकोटमा समेत कम मतदान भएको छ । अजिरकोटको सबैभन्दा बढी मतदाता संख्या रहेको ज्ञानज्योतिमाविमा एघार सय ६३ जना मतदाता रहेकोमा ७ सय ९९ मत खसेको छ । यो पालिकाभरकै सबैभन्दा बढी खत खसेको बुझिएको छ ।

गोरखमा मतदानका क्रममा भने केही स्थानमा सामान्य विवाद भने भएको थियो । अजिरकोट गाउँपालिकाका मतदान केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भएका थिए ।