भक्तपुरमा निर्वाचनका लागि सबै तयारी पूरा

0
Shares

भक्तपुर।

भक्तपुरमा निर्वाचनका लागि सबै तयारी पुरा भएको छ। आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारीको सम्पूर्ण काम पुरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

प्रजिअ शर्माले आज सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै भयरहित वातावरणमा मतदान गर्ने गरी तयारी पुरा भएको बताउनुभयो । जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै निर्वाचन पूर्वका सम्पूर्ण तयारी पुरा भएकोजानकारी दिनुभयो ।

दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ सहित कर्मचारी मतदान स्थल पुगेको तथा सवारी साधनको व्यवस्था लगायतका काम पुरा भएको हो। निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, नेपाल र म्यादी गरी दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताईएको छ।
\
८८६ जना म्यादी प्रहरीसहित २ हजार २१८ जना सुरक्षाकर्मी परिचालन भएको बताउँदै प्रजिअ शर्माले निर्वाचन कर्मचारीसँगै हरेक मतदान केन्द्रमा ३ देखि ५ जनासम्म स्वयंसेवक खटिने बताउनुभयो ।कर्मचारीको कारण मतदान कार्य प्रभावित नहोस् भनेर १० प्रतिशत बढी कर्मचारीलाई तालिम दिएको उहाँको भनाई छ ।
प्रजिअ शर्माले मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने र कुनै पनि केन्द्रमा उच्छृंखल तथा निर्वाचन आचारसंहिता विपरीतका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

जिल्लामा एकहजार ७७६ जना निर्वाचनका लागि कर्मचारी खटिएका छन् ।अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनका गम्भीर घटना भएका छैनन् भन्दै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । मतदानको दिन पनि कुनै घटना हुन नदिनेतर्फ सतर्क छौं र त्यसैअनुसार राजनीतिक दल तथा उम्मेदवारहरुलाई समन्वय र सहकार्य गर्न आह्वान गरेका छौं –उहाँले भन्नुभयो ।

जिल्लामा एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका छन्। यीमध्ये महिलाको संख्या बढी छ। जसअन्तर्गत २२२ वटा मतदान केन्द्रमा कूल एकलाख ९४ हजार ४३९ जना मतदाताले मतदान गर्नेछन् । भक्तपुरका कूल मतदातामध्ये महिला ९९ हजार ७५१, पुरुष ९४ हजार ६८३ र अन्य पाँच जना रहेका छन् ।

प्रजिअ शर्माले कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिंदै उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने बताउनुभयो ।

भक्तपुरका कूल २२२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ । जसअन्तर्गत भक्तपुर नपामा ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांग मैत्री बनाइएको छ ।भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालयमा अपांगता भएकाहरुको सुविधाको लागि र्‍यामसमेत बनाइएको प्रजिअ शर्माले बताउनुभयो।