किसानका समस्या समाधान गर्ने एमाले उम्मेदवार घिमिरेको आश्वासन



बुटवल।

मधेशका किसानले कृषि उपजको लागि निकै दु:ख पाएका छन् । जुन सरकार आएपनि मल र बिउको समस्या कसैले पनि समाधान गर्न सकेका छैनन् । चुनावी मत माग्दा आश्वासन पाउछन् । जितेपछि फर्केर आउदैनन् । पीडित किसानहरुका गुनासा यस्तै छन् ।

त्यसैक्रममा रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवारहरुले मतदातासँग रासायनिक मल, सिँचाई, कृषि उपजको बजारीकरण लगायतका कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । योजनाबद्ध रुपमा काम गर्दा किसानका समस्याहरु समाधान गर्न सकिने बताउँदै उम्मेदवारहरुले व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन मिल्ने गरी आवश्यक नीति, नियम समेत बनाइने बताएका छन् ।

आसन्न निर्वाचनका सन्दर्भमा विभिन्न स्थानमा घरदैलो अभियानका क्रममा मतदातासँगको अन्तरक्रियामा एमाले उम्मेदवारहरुले खेतीयोग्य जमिनमा सिँचाईका लागि लिफ्ट सिँचाईको साथै उपर्युक्त स्थानहरुमा भूमिगत सिंँचाईको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् ।

रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभा सदस्य पदमा बासुदेव घिमिरे र प्रदेश सभा सदस्य पदमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले प्रथम नगर प्रमुख हुँदा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सरसफाई, सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेका नमूना कामका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककैं नमूना नगरपालिका बन्न सफल भएको छ । उम्मेदवार घिमिरेले तिलोत्तमालाई नमूना नगरपालिका बनाएको अनुभव आफूसँग रहेकोले क्षेत्र नं. ५ का बासिन्दाहरुका आमसमस्या समाधान गर्न आफूसँग स्पष्ट योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्