अन्तत : ढुङ्गामाथि नै बन्ने भो मोटरेबल पुल !



कुश्मा।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ । फलेवास नगरपालिकाको देवीस्थान र कुर्घामा रहेको अलपत्र मोटरेबल पुलमा दुवैतर्फ पिलर उठाएर स्ल्याव ढलान गर्ने कामबाहेक अरु केही भएको छैन । स्थानीयले ढुङ्गामाथि मोटरेबल पुल निर्माण गरेको भन्दै विरोध जनाएपछि निर्माणाधीन अवस्थामै पुलको काम रोकिएको थियो ।

“भूगोलको कारण पनि त्यहाँ पुल सम्भव छैन भनेका थियौँ”, फलेवास नगरपालिकाका पूर्व नगरप्रमुख पदमपाणि शर्माले भने, “शिलान्यास समारोहमा नै हुँदैन भनेका हौँ, तर डिभिजन कार्यालयले के कारणले ग¥यो ?”

प्राविधिक समस्या देखाएर पुलमा राजनीति गर्न खोजेको देवीस्थानका स्थानीयको बुझाइ छ । नेताहरूले बाहिर विकास गरेजस्तो देखाउने तर, भित्रभित्रै कामचाहिँ हुन नदिने खेलका कारण पाँच वर्षसम्म पनि पुल बन्न नसकेको उनीहरूको आरोप छ ।

“पुल नबनाउने रणनीतिअनुसार नै गलत ठाउँमा त्यो पनि ढुङ्गामाथि पुलको फाउण्डेशन बनाउने काम गरियो”, स्थानीय शिव क्षेत्रीले भन्नुभयो, “एउटै खर्चमा एउटा पुलले काम गथ्र्यो तर राजनीतिक दबाबमा प्राविधिकले नजिकैको दूरीमा अर्को पनि पुल हाल्ने गरी डिजाइन गरेछन्, यो भनेको पुल बन्न नदिने र देवीस्थानलाई छायाँमा पार्ने रणनीति हो ।”

गण्डकी प्रदेशका तत्कालीन मन्त्री विकास लम्सालले पाँच वर्षअघि बाजागाजासहित पुलको शिलान्यास गरेका थिए । पुल निर्माण कार्य ढिलाइ हुनुमा राजनीति नभएर पुलमाथिबाट झरेको पहिरो मुख्य समस्या भएको पूर्वमन्त्री लम्सालले बताए । “पुलको वारिपट्टिको पिलरलाई असर पुग्ने गरेर माथिदेखि पहिरो खसेको हुँदा काम रोकिएको थियो”, उनले भने, “खानीगाउँ, देवीस्थान छुट्याएर म हिँडछुहोला र ? अब पनि पुल नबनेमा सम्पूर्ण दोष मलाई दिए हुन्छ ।”

अलपत्र पुलकै कारण कालीगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको भन्दै फलेवास नगरपालिकाले पुल निर्माणकार्य छिटो सञ्चालन गर्न दबाब दिने काम भएको बताएको छ । “काम छिटो गर्नका लागि कुश्मा र फलेवास नगरपालिका क्षेत्रको बेग्ला–बेग्लै प्याकेजमार्फत काम गरौँ भनेर कालीगण्डकी करिडोर आयोजनाको कार्यालयमा अनुरोध गरेको छु”, “फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले भने , “आ–आफ्नो पालिकाले अपनत्व लिएर काम गर्दा प्रभावकारी र चाँडै करिडोरको काम हुन्छ भन्ने मेरो बुझाइ हो ।”

पाँच वर्षदेखि रोकिएको काम फेरि सञ्चालन गरिने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख शङ्कर पौडेलले बताए । “हामीले चुनावलगत्तै पुल निर्माणलाई निरन्तरता दिनेछौँ । ठेक्का प्रक्रिया पनि भइसकेको छ”, उनले भने, “ढुङ्गालाई प्रोटेक्सन गरेर पहिलेकै डिजाइनमा काम गर्ने निर्णय भएको छ ।” उनका अनुसार विसं २०७४ मा पुल निर्माण गर्ने जिम्मा पाएको नयाँ बाटो गौचन जेभीले नै फेरि पुल निर्माण गर्ने छ । २५ मिटरको यस पुलको लागत रु पाँच करोड ६४ लाख रहेको छ ।

बलेवा–कैया जोड्ने झोलुङ्गे पुलका कारण कुश्मा खण्डको बाटो विस्तारमा समस्या भएको आयोजनाले बताएको छ । “मोदीबेनी नजिकको बाटो साँघुरो छ, त्यहाँ ब्लास्टिङ नगरेसम्म सम्भव छैन, तर ब्लास्टिङ गर्दा झोलुङ्गे पुललाई असर पर्र्नेे देखिन्छ”, आयोजना प्रमुख पौडेलले भने, “अर्को उपाय नभएसम्म कुश्मा–मोदीबेनीबाट अर्मादीसम्मको ट्रयाकमा कुश्मा–मोदीबेनीको बाटोलाई अघि बढाउने कि भन्ने छलफलमा छौँ ।” कालीगण्डकी करिडोर नवलपरासीको गैँडाकोटबाट सुरु हुन्छ । अन्तिम टुङ्गो मुस्ताङको कोरला नाका हो । यसलाई चीनको प्रवेशविन्दु मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्