कैलालीमा कांग्रेसले बागी उम्मेदवारसहित १० जनालाई पार्टीबाट निकाल्यो

0
Shares

धनगढी । कैलालीमा कांग्रेसले १० जना नेता तथा कार्यकर्तालाई पार्टी निकाला गरेको जनाएको छ। कांग्रेसले जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरिएको जनाएको हो ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको छ । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।

कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (२) मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२) की भगवती पाठक रहेकी छन् ।

यस्तै भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीकाट निकालिएका छन् ।

त्यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ। जोशी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका थिए ।