राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आज (आइतबार) न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई कात्तिक २ मा छलफलका लागि बोलाएको छ । सर्वोच्चले आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।

बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले २६ असोजमा गुरुङको उम्मेदवारी खारेजीको निर्णय गरेका थिए । गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्