एनआरएनका आठ खेलाडीले खेल्न पाएनन्


पोखरा ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका आठ खेलाडीले नवौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रदेश नम्बर एकले हालेको प्रोटेस्ट सदर गरेपछि एनआरएनएका आठ खेलाडीले खेल्न नपाउने भएका हुन् ।

आठ खेलाडीमा विमल घर्ती मगर, संजोक राई, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, निशान खड्का, अशोक खवास रहेका छन् । प्रदेश एकले बिहीबार नेपाली राष्ट्रिय खेलाडीहरु समावेश गरेर खेलाएको भन्दै प्रोटेस्ट हालेको हो ।

पोखराको गोस्टेघाट खेल मैदानमा बिहीबार एनआरएनएले प्रदेश एकलाई २–० ले हराएको थियो । एनआरएनएको जितमा विमल घर्ती मगर र संजोक राईले एक एक गोल गरेका थिए । तर, अब प्रदेश एकले ३–० को जित पाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ एनआएरएनले खेलको मर्म विपरित खेलाडी ल्याएको भन्दै प्रदेश नं. १ ले विरोध गरेको थियो । प्रदेश १ ले खेल शुरु हुनुअघि खेलमैदानमा आफूहरू नखेल्ने बताएपछि केही समय खेल रोकिएको थियो । प्रदेश १ ले खेलपछि उजुरी ( प्रोटेस्ट) दिन पाउने भएपछि खेल सुचारु गरिएको थियो ।

पोखरा महानगरपालिका लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा बिहीबारदेखि खेल शुरु भएको थियो । प्रतियोगितामा एनआएरएनले विभिन्न कारणले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई सहभागिता गराउनुपर्ने भएपनि स्वदेशमै रहेका खेलाडीलाई टिममा राखेर सहभागिता जनाए्को प्रदेश १ का प्रशिक्षक सुरेन्द्र तामाङले बताए । उनले एनआरएनमा नेपाली नागरिकता वा राहदानी भएका खेलाडी खेल्न नपाउने नियम भएपनि त्यसो नभएको सुनाए ।

‘यो खेल्न हुँदैन भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो यो त प्रवासीहरूको टिम हो प्रवासी भनेर सबै नेपाली खेलाडी खेलाउन त भएन नी । अधिकाशं राष्ट्रिय खेलाडी छन् त्यसमा पनि प्रदेश १ कै ६ जना खेलाडीहरू खेलेका छन्’ उनले भने,‘यो नवौं रािष्ट्रय खेलकुद हो की गोल्डकप हो ? यसमा कुरा बुझ्न सकिएन ।’एनआरएनबाट खेलाडी खेल्दा आगामी प्रतियोगितामा प्रदेशबाट खेल्ने खेलाडी नै नपाउने बताए । उनका अनुसार एनआरएनमा जाँदा राम्रो रकम पाउने तर प्रदेशबाट खेल्दा गाडीभाडा सम्म पाउनसमेत मुस्किल हुँदा खेलाडीको एनआरएनप्रति आकषर्ण बढ्ने बताए ।

‘पासपोर्ट हेर्ने हो भने सबैको नेपालकै छ अनि कसरी हुन्छ यो । प्रत्येक राष्ट्रिय खेलाडीलाई यसरी खेलाउँदा दशांैमा सबै एनआरएनबाटै खेल्छन् । प्रदेशबाट खेल्न मान्दैनन्’ उनले भने ।उता एनआरएनका मुख्य प्रशिक्षक आसिक थापा मगरका अनुसार एनआरएनको टिमले सहभागिता नजनाएपछि नेपाली खेलाडीहरू समेटेर सहभागिता जनाएको हो ।‘खासमा तिनीहरू एनआरएन नै आउँथ्यो होला तर, युकेको विग्रेड ब्वाइज क्लब भन्ने थियो त्यो क्लबले अन्तिममा क्यान्सिल गरेको हो । उसले (विग्रेड) क्यान्सिल गरेपछि यहाँ खेलाडी भएनन्’ उनले भने,‘ एनआरएन खेलमा सहभागिता भइसकेको छ । त्यसो भएपछि यहाँ खाली रहेका जति पनि खेलाडी छन् जिल्लाबाट नखेलेका प्रदेशमा नपरेकालाई लिएर टिम बनाएका हौँ ।’ उनले नियमले नमिल्ने भए आफूहरू आयोजकको निर्णयलाई सहर्ष स्वीकार गर्ने बताए ।

उता पुरुष फुटबल प्रतियोगिता संयोजक दावा लामाले एन्फालाई अनुगमन गर्ने अधिकार नभएको बताए । उनले एन्फाको भूमिका प्रतियोगितामा प्राविधिक पक्ष र व्यवस्थापनको पक्ष मात्रै रहेको बताए । ‘एनआरएनले केही नेपाली खेलाडी हालेकै हो । तर, एन्फाको भूमिका यहाँ व्यवस्थापन पक्ष र प्राविधिक हेर्ने मात्र हो’ उनले भने,‘एनआरएनले एउटा पत्र लिएर आएको छ ।

त्यसमा विदेशबाट आउन नसकेको खेलाडीको स्थानमा राखेपले चाहिँ अन्य खेलाडीलाई पनि खेलाइदिनु भनेर लेखेको चिठ्ठी पनि ल्याएको छ । हामीसँग खेल खेलाउने वा नखेलाउने भन्ने निर्णय लिने अधिकार छैन । खेलाउने मात्रै हामीसँग अधिकार छ ।’ खेलप्रति असन्तुष्टि भए एन्फालाई पत्र दिने र सो पत्र अनुसार राखेपलाई बुझाउने उनले बताए ।