बिर्तामोडबाट महापुरुषको प्रस्तुति शुरू


आफ्नो फिल्मबारे जानकारी गराउन महापुरुषका कलाकारले बिर्तामोडबाट मोफसल टुर शुरू गरेको छ। बिर्तामोडमा आयोजित कार्यक्रममा फिल्मका कलाकारले विभिन्न प्रस्तुतिमार्फत महापुरुषबारे जानकारी गराएका छन्।

वानस्टप मलमा हजारौं दर्शकको उपस्थितिका बीच फिल्मका कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरूण क्षेत्री, अञ्जना बराइली, रवीन्द्र सिंह बानियाँ लगायतले दर्शकलाई विविध प्र्रस्तुतिका साथ मनोरञ्जन प्रदान गरे। गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेर महापुरुषका विविध विषयमा जानकारी गराउँदै फिल्मप्रति आकर्षित गर्ने प्रयास गरेका छन्।

कार्यक्रममा विविधता प्रदान गर्न स्थानीय कलाकारको समेत प्रस्तुति समावेश गरिएको थियो। कलाकारहरू अरूण र अञ्जनाले नृत्य प्रस्तुत गर्दा हरिवंश र रचनाले गीत प्रस्तुत गरेका थिए। गीत संगीत र नृत्यका माध्यमबाट दर्शकलाई झुमाउन सफल कलाकारहरूले महापुरुष राम्रो बनेको भन्दै हेरिदिन आग्रहसमेत गरेका छन्।

आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्मले उक्त कार्यक्रम अघि बिर्तामोडमा पत्रकार सम्मेलन समेत गरेको थियो। विभिन्न स्कूलमा पुगेर फिल्मबारे जानकारी दिएको निर्माण टिमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्र्तक्रियासमेत गरेको थियो। प्रदीप भट्टराईको निर्देशन रहेको फिल्मले देशका विभिन्न सहरमा पुगि प्रचारात्मक कार्यक्रमहरू गर्ने तय गरेको छ। निर्माण टिमले हेटौंडा, नारायणगढ, बुटवल, पोखरालगायतका सहरमा कार्यक्रम गर्दैछ।