मनपराइयो २ नम्बरी

0
Shares

गत शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको फिल्म २ नम्बरीलाई दर्शकले मन पराएका छन्। रिलीजमा आएको दिनदेखि नै फिल्म हाउसफुल भएको छ।

आइतबार राति आयोजना गरिएको फिल्मको विशेष शोमा दुई नम्बरी हेर्ने फिल्मीकर्मीले पनि यसलाई रुचाएका छन्। नायिका पूजा शर्माले यसको कथावस्तु, प्रस्तुति र सन्देश उत्कृष्ट लागेको बताइन्। लोकप्रिय हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले आम नेपालीले यो फिल्म हेर्नुपर्ने बताए। फिल्मको कथावस्तु आफ्नै माटोको छ। अर्गानिक कथालाई निर्देशकले रमाइलो तरिकाले बुनेका छन्।  फिल्म हेरिसकेपछि पन्तले भने। सामाजिक कथावस्तुमा फिल्म निर्माण गर्दै आएका दीपेन्द्र लामाले यसपटक वन्यजन्तुको चोरी शिकारीको कथा पस्केका छन्।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि फिल्मको प्रशंसा गरे। निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्ना लागि फिल्म बनाएको तर यसपटक दर्शकका लागि बनाएको बताए। दर्शक र फिल्मीकर्मीको प्रतिक्रियाबाट उत्साहित फिल्मका अभिनेता दयाहाङ राईले सामाजिक सन्देशसहितको फिल्म भएकाले दर्शकको मन छोएको बताए। भुटानी नायिका उगेन छोदेनले नेपाली दर्शकले आफूलाई स्वागत गरेको भन्दै खुसी व्यक्त गरिन्। किरण नेपाली प्रस्तुतकर्ता रहेको यो फिल्मले रिलिजको चौथो दिनको मध्याह्नका शोमा समेत उच्च अकुपेन्सीसहित दर्शकको माया पाएको छ।