कलाकार उम्मेदवार


आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कलाकारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्।अभिनेत्री, निर्मात्री, निर्देशक तथा राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छन्।

त्यसैगरी बलिउड फिल्ममा समेत अभिनय गर्दै आएका अभिनेता, गायक तथा संगीतकार मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मधेस प्रदेश सिरहा जिल्ला संसदीय चुनाव क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। फिल्म निर्माता तथा अभिनेता रोज राणाले प्रदेश सभाका लागि नेपाली कांग्रेसका तर्फबाट प्युठान-१ खु बाट उम्मेदवारी दर्ता गरेका छन्। उता फिल्म निर्देशक मनोज पण्डितले काभ्रे-२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठले प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट धादिध्र+१ का लागि उम्मेदवारी दिएका छन्। गायक तथा संगीतकार सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा संलग्न उनले पार्टीले टिकट नदिएपछि त्यसबाट अलग भएको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। हास्यकलाकार मधुसूदन पाठक (सिते बा) ले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। पाठकले काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि, उनले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका थिए।

कलाकार, निर्माता तथा वितरक करण श्रेष्ठ क्रेजीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश खु तर्फ उम्मेदवारी दिएका छन्। त्यसैगरी, कमेडी च्याम्पियन हिमेश पन्तले प्रतिनिधि सभाका लागि राष्ट्रिय  स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं १ का लागि उम्मेदवारी दर्ता गरेका छन्।