प्रदेश नम्वर १ को सुधारिएको प्रदर्शन गर्ने उद्देश्य

0
Shares

काठमाडौं । 

प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ ।

त्यहि उर्वर भूमीले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चयाउन सकेको छैन । पुर्वका राम्रा खेलाडिहरु विभागीय क्लबहरुमा आवद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पुर्वका खेल पदाधिकारीहरुको छ ।

सातौं बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि पुर्वले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन ।नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो । तर गण्डकी प्रदेशमा अब शुरु हुने

नवौं सँस्करणमा भने प्रदेश नम्वर एकको तालिकामा फड्को मार्ने दाउ छ ।
प्रदेश नम्वर एक खेलकुद विकास परिषदका सदस्य सचिव हंसराज वाग्ले भन्छन् – “ विभागिय टोली र बाग्मती पछि पाँचौ वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ। “

राष्ट्रियमा सहभागिता

प्रदेश नम्वर एकले नवौं राष्ट्रियमा समावेश ३६ खेल मध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाँउदैछ ।त्यसका लागि ७ सय भन्दा वढी खेलाडीहरु दर्ता भइसकेको छ । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तह सम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।

प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको उद्घाटन गरेको थियो भने यहि असोज ८ गते विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो ।
पौडी, गल्फ, पाराग्लाइडिङ, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास, आर्चरी जस्ता खेलहरुमा प्रदेश नम्वर एक राम्रो रहेको पदाधिकारीहरु बताउछन् ।

समुहगत खेलमा फुटबल र भलिवलमा हामी कडा चुनौती पेश प्रदेशको दावी छ ।कडा चुनौती पेश गर्ने दावी गरेको प्रदेश एकले खेलाडीहरुलाई प्रतियोगिताको तालिका हेरेर एक देखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ ।सदस्य सचिव वाग्ले भन्छन् – “ नवौंको उद्घाटनअगाडि नै हुने खेलको लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं । अलि पछाडी शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं।“

वजेट र सुविधा

देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत राष्ट्रिय प्रतियोगिता हो । खेलकुदविकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको हो ।सोही अनुरुप प्रदेश एक सरकारले नवौं राष्ट्रियको लागि ९ करोड १९ लाखको वजेट विनियोजन गरेको छ ।अन्य प्रदेश भन्दा फरक १ नम्बरले जिल्लातहको छनोट देखि नै खेलाडीहरुलाई ट्रयाक शुट वितरण गरेको थियो ।

छनोटमा सहभागि सबै खेलाडीहरुलाई १ हजार ६ सय भत्ता वितरण गरिएको थियो ।सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्री देखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।

चुनौती

राष्ट्रिय खेलकुद परिषदले निश्चित समय सीमा तोकेर सहभागि सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरेपनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेन । त्यसमा प्रदेश एक पनि अछुतो रहेन ।

त्यसका लागि खेल स्थलहरुको खरावस्थिति र प्रदेश खेलकुदको नीतिहरु राम्ररी तयार हुन नसकेकोले पनि देखिएको हो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्न पर्यो ।

राष्ट्रिय खेलकुद परिषदले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरुको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाई भएको उनको भनाई छ । यी चुनौतीहरु पार गर्दै अन्तत प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्च स्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।