यस्तो अवस्थामा जनताको भूमिका के त ?

0
Shares

‘नेता स्वदेशमा रहँँदा रात परेपछि डर । विदेशी जासुस सुटुक्क बोलाएर स्वदेशको साँचो सुम्पेलान् कि भन्ने डर । नेता विदेशमा रहँदा दिउँसै पनि डर । रक्सीको सङ्गीतमा झुमेर मुलुक र जनता भसाउने कागतमा फसाफस सही धस्काउलान् कि भन्ने डर । हामी जनतालाई नेतासँग जहाँ पनि डर । जहिले पनि डर । डरैडर । नेताहरु नै भस्मासुर बनेपछि भस्मासुरका हातबाट देश र जनतालाई जहाँ पनि डर । जहिले पनि डर । डराएर समस्याको समाधान हुँदैन भन्ने थाहा छ । थाहा भएर पनि डर । डरै डर ।’ चौतारीका बरको फेदैनिर उभिएर मैले भनेँ ।

‘यस्तै हो, मूर्खदेखि देउता पनि डराउँछ भन्छन्’, डाँडागाउँका एकजना काकाले भन्नुभयो, ‘हाम्रा गाउँमा एकजना हबलदार थियो । फुर्के हबलदार । घरमा आउँँदा श्रीमती र छोरालाई खुट्टा बजारेर सलाम गर्न लगाउँथ्यो र भन्थ्यो, ‘मलाई बोलाउँदा हबलदार साप भनेरै बोलाउनू । अनि बिहानै मनिर उभिन आएर गालामा मेरो लबटाको एकेक चड्कन थाप्नू । नत्र म बुटले मुखैमुखमा हान्छु ।’ उसले यति भनेपछि घरमा सबै थर्कमान । अहिले त्यो हबलदार ठोरीतिर बसाइँ स-या छ !’

अमेरिकावासी छोराकोमा ६ महिना बसेर हिजै मात्र घर फर्केका हरिलाल काकाले भन्नुभयो, ‘हाम्रा जनप्रतिनिधिहरु सार्वजनिक स्थानमै पनि अरुसँग कुरा गर्दा आफैंलाई आफैं माननीय भन्छन् । निलम्बित प्रधान न्यायाधीशसँगको सोधपुछ कार्यकार्यक्रममा एकजना महिला सांसदले ‘हामी माननीयहरुसँग यसरी कुरा गर्ने ?’ भनेर निलम्बित प्रधान न्यायाधीशलाई थर्काएको हामीले स्पष्टै सुन्यौँ । यसबाट हामी जनतालाई सदाचार विज्ञानको क्षेत्रमा एउटा नयाँ हबलदारी ज्ञान प्राप्त भएको छ । चेतना भए तिनका परिवारजनलाई पनि होसियारीको नयाँ सङ्केत प्राप्त भएको हुनुपर्छ ।’

गाउँका एकजना वयोवृद्ध काकाले कुरै कुरामा उत्तेजित हुँदै ‘यी सत्ताका मात लागेका डाँकाहरु’ भन्न भ्याउनुभयो । विमति जनाउँदै मैले तत्काल भनेँ, ‘अरुलाई भने पनि हाम्रा जनप्रतिनिधिहरुलाई चाहिँ डाँकासाँका केही नभन्नुस् है । उहाँहरुलाई त माननीय, सम्माननीय, स्वनामधन्य, मान्यवर हजुरजस्ता पदानुकूल शब्द प्रयोग गरेर बोल्नुपर्छ । उहाँहरुका पार्टी छन्, गठबन्धन छन् । सत्तामा छन् । प्रतिपक्षमा छन् । उहाँहरु त ठूला मान्छे । उहाँहरुलाई डाँका भन्न कसरी मिल्छ ? डाँका त त्रासको मूर्तरुप हो । डाँका आउँदा त ज्यान जोगाउनका लागि पनि मानिसहरु कति सम्मान दिन्छन् । उहाँहरु त राजनीति गर्नेहरु । उहाँहरुकोे सङ्गठन हुन्छ, सङ्गठन ।’

मेरो कुरामा एकछिन् हाँसेर डिहिगाउँका पाका काकाले भन्नुभयो, ‘सङ्गठन त डाँकाहरुको पनि हुन्छ । अझ डाँकाहरुको सङ्गठन अरुभन्दा विशेष हुन्छ । डाँकाहरु लुटानको धन समान–विभाजनमा बढी नै ध्यान दिन्छन् । बाहिर छताछुल्ल हुने डरले डाँकाहरु आपसमा झगडा गर्न हौसिँदैनन् । कथम् कदाचित् झगडा हुन लाग्यो भने सर्दारले सबैलाई काबुमा राख्छ । झगडा रोक्छ । यसो नहुँदो हो त डाँकाहरुको सङ्गठन चल्ने नै थिएन । डाँकाहरुसँग समान अवसर र समान विभाजनबाहेक सङ्गठन कायम राख्ने कुनै उपाय छैन । डाँकाहरु नेता होइनन् । नेताहरुसँग जस्तो नानाथरीका सिद्धान्तका आवरण भिर्न डाँकाहरु सक्दैनन् । डाँकाहरुसँग यत्ति भने पनि इमान छ ।

गरिब–निमुखाका दानापानी लुट्दैनन् डाँकाहरु । डाँकाहरुसँग कतिपय कुरामा नीति र नैतिकता पनि हुन्छ । जुन आजका धेरैजसो राजनीतिक दल र तिनका नेताहरुसँग छैन ।’‘यसै त सिद्धान्तको आवरण खुइलिएपछि राजनीतिक नेताहरु अरु डर लाग्दा डाँका बन्छन् । राजनीतिक दलचाहिँ डाँकाहरुको जत्था बन्न पुग्छ । जुन कुरा हामी आज हाम्रै नेपालमा देखिरहेका छौँ ।’ एकजना अधबैँसे दाइले भन्नुभयो ।‘सत्ताका गठबन्धन पार्टीहरुमा हरेक सांसद सदस्यलाई मन्त्री बन्नुपरेको छ । मिले, पाए बाँचुन्जेल मन्त्री बन्नु छ । मत्री बन्नु नै लुटको अवसर पाउनु हो । अवसर नपाई कसरी लुट्नु ? अवसर पाएपछि किन नलुट्नु ? लुट्न कान्छा लुट्, अरु देशमा पाइँदैन नेपालमै हो छुटजस्ता गीतहरु त्यसै बनेका होइनन् । सबै नेता–उपनेताका द्रव्यातुर मनमस्तिष्कमा आज यही तत्वज्ञान भरिएको छ ।

यसै भएर त सांसदहरु मन्त्री हुन पाउँदा मुसुक्क हाँस्छन्, मख्ख पर्छन् । आर्यघाट नपुग्दासम्म पदबाट हट्न नपरोस् भनी कुलदेवतासमक्ष भाकल गर्छन् । बोका काट्छन् । अनि आफूलाई धन्य ठान्छन् । यसैले मन्त्रीपद खुस्कँदा भलभली आँसु झारेर रुन्छन् । पिरलो पोख्छन् । अवसर पाएर पनि चाहिएजति लुट्न नभ्याउनुको पीडा अरु भयङ्कर हुन्छ । निवर्तमान मन्त्री–मन्त्राणीका आँखाबाट बढी आँसु भुलुभुलिनुको प्रमुख कारण यही हुन सक्छ । भर्खरै केही दिनअघि एक मन्त्राणी निवर्तमान बनिन लाग्दा टिठ लाग्दो गरी जुन रोदन रुनुभयो ।

मिडियामा धेरै आँखाले त्यो दृश्य देखे । धेरैले एउटै कुरा भने, कठै बरा बिचरीले चाहेजति लुट्न भ्याउनुभएन । अर्थात् कमाउन भ्याउनुभएन । अनि नरोएर के गर्नु ? रोएपछि यता काकाले नदिएको अवसर उता बाले दिनुहोला कि । बा त हुनुहुन्छ नि । दुःख पर्दा कति छोरीहरुले आमालाई भन्दा पनि बालाई सम्झन्छन् । सत्तासम्पत्तिमा हालीमुहाली त आज पनि बाकै बाँकी छ । अनि सम्झनै प-यो नि । हैन र ?’‘यता निवर्तमानको तातो कुर्सीमा विराजमान हुँदा प्रवर्तमान मन्त्रीले कस्तो अनुहार लाउँछन् त ? हाँसो थामिनसक्नुको हुन्छ उनको । मज्जाले हाँस्छन् ।

वक्तव्य पनि दिन्छन्, । भन्छन्, ‘कुर्सी भएसम्म कुर्सीमा बस्न आउने÷जानेको क्रम चल्छ । यो स्वाभाविक प्रक्रिया हो । म त आउँदा जसरी हाँसेको छु जाँदा पनि त्यसरी नै हाँस्छु ।’सचिव मनमनै भन्छन्, ‘हेरौँला नि, म त कतै जाने होेइन क्यारे ।’ प्रकटमा मुखले भन्छन्,, ‘हजुर बडो निष्ठावान् होइसिन्छ । हजुरको कार्यकाल धेरै लामो रहोस् । हजुरजस्तो मन्त्री पाएर मन्त्रालयको भाग्य खुलेको छ । अब राम्रो हुन्छ ।’‘तपाईंहरुको साथ सहयोग पाएँ भने म आजसम्म कसैले गर्न नसकेको काम गरेर देखाइदिन्छु !’ मन्त्री भन्छन् । ‘तैँले गर्ने काम भनेको पनि जनताका ढुकुटीमा थप डाँका मार्ने नै त होला नि !’ कार्यालय सहयोगी मनमनै मुर्मुरिन्छ । यसै बीच सचिवले कर्मचारीहरुलाई इशारा गर्छ ।

एकैछिन्मा मन्त्रालयमा स्वादिष्ट जलपानको मेसो चल्छ । सचिव आशुकवि पनि छन् । छिन्भरमै टेबलमाथि प्लेटमा सजिएको कबाफको कविता लेख्छन्, मन्त्रीका अगाडि अदवसाथ राखिदिन्छन् । कबाफ टोक्दै मन्त्रीले मनमनै कविता पढ्छ र भन्छ, ‘वाह, गज्जव छ । डर छ । हामीबाट सबैलाई डर छ । सबै थर्कमान छन् ।’कुरा सुनिरहेका अर्का काकाले अघि सर्दै भन्नुभयो, ‘डाँकाहरु उहिले–उहिले पनि हुन्थे । डाँकाहरुका सरदार पनि हुन्थे । सरदारका ग्याङ हुन्थे । यसरी डाँकाहरुका ग्याङ उहिले–उहिले पनि हुन्थे । अहिले पनि हुन्छन् । पहिलेका डाँकाहरुको ग्याङफाइट पनि हुन्थ्यो । अहिलेका डाँकाहरु ग्याङ गठबन्धन गर्छन् । घोषित गठबन्धन गर्छन् । कुनै ग्याङ योजनाबद्धरुपमा गठबन्धनबाहिर पनि बस्छन् ।

‘आपसमा स्नेह सहयोग कायम राखेर हाम्रो ग्याङ दुनियाँका नजरमा गठबन्धनबाहिर बस्छ । यसो गर्दा हामी पनि जनताका आँखामा छारो हाल्न सक्छौँ । गठबन्धनको छारो त यसैउसै कुहिरीमण्डल छँदै छ ,। यस्तो सोच राखेर गठबन्धनबाहिर पनि बस्छन् । सङ्गठित ग्याङ र अलग ग्याङ, तर गन्तव्य एउटै । यो पनि नयाँ प्रयोग हो ।’ यस्तै–यस्तै गोप्य सम्झौता गरेका खप्पिस डाँका सरदारका ग्याङहरु कोही भित्र त कोही बाहिर परेको नाटक पनि गर्छन् । यसरी हेर्दा आज मुलुकका दायाँ पनि डाँका, बायाँ पनि डाँका, अगाडि पनि डाँका, पछाडि पनि डाँका, माथि पनि डाँका, तल पनि डाँका भएको अवस्था छ र जनजीवन अत्ताल्लिएको छ ।’

‘आज मुलुकमा राजनीतिले डाँकाहरु हडप गरेको छ । डाँकाहरुले सत्ता हडप गरेका छन् । डाँकाहरु देश र जनताका लागि नियम कानुन बनाउँछन् । जेलनेलको व्यवस्था गर्छन् । दण्डनीति नै डाँकाहरुका हातमा भएपछि समाजमा दण्डित को हुन्छ ? जो डाँकाहरुका विरोधमा हुन्छ, जो डकैतीका विरोधमा हुन्छ त्यही दण्डित हुन्छ ।’मैले विनम्रताका साथ काकाहरुसँग भनेँ, ‘यदि अवस्था यस्तै हो भने यस्तो अवस्थामा हामी जनताको भूमिका के त ?’