पुलिस र आर्मीको जित

0
Shares

काठमाडौं ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरूष टी २० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो । जितसँगै पुलिस ३ खेलमा ७ अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यमा लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय २८ रन मात्र बनाउन सक्यो । बसिर अहमदले नटआउट ४६ तथा सौरभ खनालले २४ रन जोडे । बलिङ्गमा पुलिसका ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रनको बलियो योगफल तयार पारेको थियो । टोलीको लागि कुशल भुर्तेलले सर्वाधिक ७५ रन बनाए भने आरिफ शेखले ५० रनको अर्धशतकीय पारी खेलेका थिए । लुम्बिनीका लागि बलिङ्गमा बसिर, अनिल खरेल, दीपेन्द्र रावत तथा विशाल विक्रम केसीले समान १–१ विकेट लिए ।

यसअघिको खेलमा आर्मीले मधेस प्रदेशलाई ६ विकेटले हराएको थियो । मधेसले दिएको १ सय ५ रनको सामान्य लक्ष्य आर्मीले १८.१ ओभरमा जम्मा ४ विकेट गुमाउँदै पुरा गरेको थियो । आर्मीका विनोद भण्डारीले नटआउट हुँदै ३४ रन बनाए भने रोहित पौडेलले २५ रन बनाएका थिए । अर्जुन साउदले १७ तथा राजेश पुलामीले नटआउट १६ रनको पारी खेले । मधेशका लागि बलिङ्गमा आदिल आलम, रूपेश सिंह र हरिशंकर शाहले समान १–१ विकेट हात पारेका थिए ।

यसअघि, पहिले ब्याटिङ्ग गर्दै मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रनको योगफल खडा गरेको थियो । टोलीका लागि सन्तोष कार्कीले २१, हासिम अन्सारीले २० तथा रोहण बिकले नटआउट १७ रन जोडे । आर्मीका सोमपाल कामी र सुशन भारीले समान २–२ विकेट लिएका थिए ।