इन्द्रजात्राको शुभकामना !



अधिकांशतः विश्वमा नेपालको परिचय सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान गौतम बुद्धका कारण हुनेगरेको छ । तर, यी दुवै पहिचानमा नेपाली नागरिकको योगदान खासै छैन । प्रकृतिको वरदान हिमाल कुनै व्यक्तिको श्रम र सीपले खडा हुने सम्भावनाको विषय पनि होइन ।

यसमा हामीले बढी धाक लगाउनुपर्ने तुक पनि छैन । त्यसैगरी भगवान बुद्ध २५ सय वर्षअघि आजको नेपाल बन्नुभन्दा निकै पहिले लुम्बिनीमा जन्मिए, तर उनलाई त्यहाँ जन्माउन हामीले भूमिका खेल्ने कुरो पनि भएन । पछि भगवान बुद्धले आजको नेपालभन्दा बाहिर नै बढी समय बिताए । त्यसैले सगरमाथा र बुद्धका विषयमा त्यति मात्र गौरव गर्नुपर्छ जति स्वाभाविक लागोस् । यी दुवै नेपालका निधि हुन् तर यस्ता विषयमा मात्र राष्ट्रिय गौरवलाई सीमित गर्नुभने हाम्रो कमजोरी सावित हुनेछ ।

जुन पहिचानमा आम नागरिकको योगदान छ, नेपाली राजा हुन् वा राष्ट्रपति वा प्रधानमन्त्री, अथवा सर्वसाधारण नागरिक नै किन नहून्, उनीहरुले सिर्जना गरेको सभ्यता, संस्कृति र व्यवहार हाम्रालागि प्रथम कोटीका गौरवका विषय हुन् । काठमाडौं उपत्यकामा सात दिनसम्म मनाइने इन्द्रजात्रा पर्व यस्तै गौरवको विषय हो । इन्द्रजात्राका सात दिन लाखेदेखि सेतो हात्तीसम्म नचाएर मनाइन्छ । यस्ता चलन कसरी चले भन्ने कुराको खोजी गर्दा खास भौतिक आधार भने पाइन्न । किंवदन्तीहरु नै यसका स्रोत देखिन्छन् ।

पुराणका पात्र इन्द्र, महाभारतका पात्र बारबरिक, इन्द्रको बाहन ऐरावत हात्ती आदिका सन्दर्भमा नाचगान गरिने, जीवित देवी कुमारी, गणेश, भैरव आदिको रथ निकालिने प्रचलनको पृष्ठभूमिमा किंवदन्तीकै सहारा लिनेगरेको देखिन्छ । तर, शासक र जनतालाई आबद्ध गर्न, आम नागरिकबीच सद्भावको विकास गर्न यी पर्वहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । आज, जात्रा र नाचले नै नेपाललाई विश्वमा पहिचान दिएका छन् । गणेश चतुर्थीका दिन स्वर्गबाट ऐरावत हात्ती चढेर नेपाल आइपुगेका पारिजात फूलचोर इन्द्रलाई पाताकसेर लडाउने काठमाडौं उपत्यकावासीको कथाका साथ सम्पन्न हुने इन्द्रजात्राले नागरिकको आत्मबल बढाउने कार्य गरेको छ ।

कतिलाई लाग्नसक्छ आजको वैज्ञानिक युगमा किंवदन्तीमा आधारित संस्कार र परम्पराका पछि लाग्नु र त्यसैलाई पहिचान बनाउनु तर्कसंगत होइन । तर, यथार्थ के भने, नेपालीले कहिल्यै पनि विज्ञानको विरोध गरेका छैनन् । पहिलादेखि चलनचल्तीमा आएका सांस्कृतिक र सामाजिक पहिचानका कलात्मक विषयलाई उच्च सम्मान मात्र दिएका छन् । आखिर यी सबै गतिविधि नेपाली–नेपालीबीच सद्भावको विकास गर्न र मनोरञ्जन प्रदान गर्न सक्षम पनि छन् । यी कला र संस्कृति नेपालीको आयस्रोतका विषय पनि बनेका छन् । हजारौं पर्यटक लाखेदेखि सेतो हात्तीसम्मका नाच हेर्न नेपाल आउँछन् । नेपालीले नै उत्पादन गरेका यी पर्वमा नेपालको मौलिकता छ ।

राजनीतिमा आज हामी जसरी राज्यका हरेक अंगमा कम्तिमा ३३ प्रतिशतको महिला सहभागिता र जाति एवं क्षेत्रको समावेशितामा गौरव गर्छौं, हामीले हासिल गरेको परिवर्तन ठान्छौं, त्यसरी नै इन्द्रजात्रामा पनि गौरव गर्नुपर्छ । किनभने, यो सबै नेपालीले सिर्जना गरेको सम्पत्ति हो । स्वदेशी सम्पत्तिमै हो नेपालीले विश्वसामु गौरव गर्ने ! त्यसैले गौरवपूर्ण इन्द्रजात्राका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली र यस्ता नेपाली पहिचानप्रति आकर्षित आम पर्यटकहरुमा नेपाल समाचारपत्र हरेक वर्षजस्तै यस वर्ष पनि विशेष सामग्रीका साथ सेवामा हाजिर छ । इन्द्रजात्राको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्