भदौ २२ गते निजामती दिवस मनाइने



काठमाडौं । 

सरकारले आगामी भदौ २२ गते निजामती दिवस मनाउन प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार निजामती दिवस मनाउने सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, संवैधानिक निकाय र आयोगमा पत्राचार भइसकेको छ ।

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने समितिको सदस्यमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारी सबै, निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका टे«ड युनियनका अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद् नेपालका अध्यक्ष सम्मिलित रहनेछन् । मूल समितिले दिवस मनाउने बैठक बोलाउने, उपसमितिको कार्यक्रम स्वीकृत र अनुगमन गर्नेछ ।

त्यस्तै, निजामती सेवा दिवस कार्यक्रम संयोजन समिति, अतिरिक्त क्रियाकलप उपसमिति, रक्तदान तथा स्वास्थ्य कार्यान्वयन उपसमिति, वृक्षरोपण व्यवस्था समितिको गठन तिनीहरूको कार्यक्षेत्रगत सर्त पनि निर्धारण गरिएको छ ।उक्त दिवसको अवसरमा विभिन्न पत्रपत्रिकामा निजामती सेवा दिवसको विशेषांक निकाल्ने, माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने, संघीय निजामती ऐन, निजामती कर्मचारी कल्याण कोषलगायत विषयमा कर्मचारी टे«ड युनियनमार्फत् अन्तरक्रिया कार्यक्रम गर्ने, मैत्रीपूर्ण फुटबल र अन्य कुनै खेलकुदका कार्यक्रम, एकीकृत कार्यसञ्चालन प्रणाली प्रयोगमा ल्याउनेलगायत अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने छ ।

त्यस्तै, सो अवसरमा निजामती अस्पतालसँग मिलेर प्रत्येक हिमाली र पहाडी जिल्लामा दुई दुई स्वास्थ्य शिविर सञ्चालन गरिने, प्रदेश र स्थानीय तहमा सरसफाई, प्रमुख जिल्ला अधिकारीमार्फत् विभिन्न कार्यक्रम आयोजना गर्ने मन्त्रालयले जनाएको छ । २०१३ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्यको संयोजकत्वमा गठित प्रशासकीय पुनर्गठन योजना आयोग २०१३ ले दिएको सुझावबमोजिम सोही वर्ष भदौ २२ गते पहिलोपटक निजामती सेवा ऐन, २०१३ जारी भएको थियो । सोही दिनको सम्झनामा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो ।

नेपालमा सो दिवस मनाउनुको मूल उद्देश्य निजामती सेवाबारे जनचासो बढाउने, सेवाको गतिशीलतामा वृद्धि गर्ने, सुशासन कायम गर्न यस सेवाको भूमिका बढाउने, युवा जनशक्ति र बजारका उत्कृष्ट प्रतिभालाई सेवाप्रति आकर्षित गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्