बाटोमा खुला पार्किङ

कामपा प्रहरी प्रमुख सापकोटा भन्नुहुन्छ – भदौ ५ देखि बाटोमा पार्किङ गर्न दिन्नौं



काठमाडौं । 

फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ । राजधानीका सडक साँघुरो भएपछि बढाइएको महानगर क्षेत्रका अधिकांश ठूला सडक पार्किङ स्थलमा परिणत भएका छन् ।

मेयर बालेन्द्र साहले नयाँ बानेश्वर क्षेत्रमा पुगेर फुटपाथमा पसल राख्न प्रतिबन्ध लगाए पनि सँगै रहेको बाटोमा पार्किङ धन्दा रोक्न सक्नुभएको छैन । महानगरले स्मार्ट पार्किङको नाममा ठेक्कामा दिएर लाखौं रुपियाँ कमाइरहेको छ । स्मार्ट पार्किङ शुल्कको नाममा प्रतिघण्टाको हिसाबले ठूलो रकम संकलन गरिरहेको छ । कामपा प्रहरी प्रमुख धनपति सापकोटाले नेपाल समाचारपत्रसँगको कुराकानीमा न्युरोडका आधा दर्जन र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

कामपाले सार्वजनिक–निजी–साझेदारी कार्यक्रमअन्तर्गत न्युरोड क्षेत्रको धर्मपथ, शुक्रपथ, पाको, खिचापोखरी, प्युखा र दरबारमार्ग क्षेत्रमा सशुल्क पार्किङ सञ्चालन गरेको छ । स्मार्ट पार्किङको नाममा ठेकेदार कम्पनीले दैनिक लाखौं रुपियाँ आम्दानी गरेको छ । महानगरले सर्वसाधारणको सबैभन्दा भीड लाग्ने क्षेत्र न्युरोड र दरबारमार्गमा पार्किङ ठेक्का दिएको हो ।

महानगर प्रहरी प्रमुख सापकोटा भन्नुहुन्छ – ‘सीमित क्षेत्रमा मात्र पार्किङ ठेक्का दिएका छौं । तर, अब उक्त व्यवस्था हटाउन खोजिरहेका छौं । महानगरले सडकको पार्किङलाई निषेध गरी सपिङ मल, डिपार्टमेन्ट स्टोरलगायत ठूला भवनमा पार्किङ व्यवस्थापन गर्न लागेको छ ।’फुटपाथमा व्यापार गर्ने रामेछापकी सरिता श्रेष्ठले महानगरले बाटोमा पार्किङ राखेर आफूहरूलाई हटाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘महानगरपालिकाले आक्रामक रूपमा फुटपाथ व्यापारीलाई उठिबास लगाएर बाटोमा पार्किङ गर्न खुला गरेको छ ।’

प्रहरी प्रमुख सापकोटाले भने केही महिनापछि बाटोमा पार्किङ र फुटपाथमा व्यापार दुवै शून्य गराइने बताउनुभयो । उहाँका अनुसार कामपाले भदौ ५ गतेबाट पार्किङ प्रयोजनका लागि निर्माण भएका घरमा अनिवार्य पार्किङको व्यवस्था गर्ने निर्णय कार्यान्वयन हुनेछ । उहाँका अनुसार महानगरका करिब २ सय ठूला भवनले तोकेअनुसार पार्किङको व्यवस्था गर्नुपर्ने भएको छ । भदौ ५ गतेबाट वेसमेन्ट खाली गरी जुन प्रयोजनका लागि नक्सा पार गरेको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गराउने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘भदौ ५ गतेबाट एक्सनमा जानेछौं । अटेर गरेमा कानुन अनुसार कारबाही गर्नेछौं ।’

हाल पुतलीसडक, वागबजार, बानेश्वर, कोटेश्वर, न्युरोड, असन, बालाजु, महाराजगन्जलगायत दर्जनौं स्थानमा बाटोमै पार्किङ भइरहेको छ । महानगरले अनधिकृत रूपमा राखेका सवारीबाहेक बाटोमा पार्किङ गरिएको सवारीसाधनमाथि कुनै कारबाही गर्न सकेको छैन ।राजधानीमा सञ्चालित अस्पताल, सपिङ मल, सिनेमा घरलगायत ठूला भवनमा व्यवसाय सञ्चालन गरेका सबैले ठेक्कामा पार्किङबापत लाखौं रुपियाँ ठगी गरिरहेका छन् । कामपाले पार्किङलाई व्यवस्थित गर्न छाडेर राजस्व संकलन गर्न थालेपछि सेवाग्राही ठगिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्