भारतद्वारा वेस्टइन्डिजमाथि क्लिन स्विप



लन्डन, (एजेन्सी) ।

भारतीय टोली वेस्टइन्डिजमा ३९ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) सिरिजमा क्लिनस्विप गरेको छ । भारतले वेस्टइन्डिजमा सन् १९८३ देखि वानडे सिरिज खेलिरहेको हो । भारतले तेस्रो तथा अन्तिम वानडेमा वेस्ट इन्डिजलाई १ सय १९ रनले हराएको हो । योसँगै भारतीय टोलीले तीन खेलको वानडे सिरिज ३–० ले क्लिनस्विप गरेको हो ।

पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । जसमा शुभमन गिल ९८ रनमा नटआउट रहे । कप्तान शिखर धवनले ५८ रन बनाए भने श्रेयस अय्यरले ४४ रन योगदान दिएका थिए । त्यही समयमा ठूलो वर्षा भएपछि, भारतको इनिङ यही स्कोरमा समाप्त गरिएको थियो ।

वर्षाका कारण घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविसको नियमअनुसार ३५ ओभरमा २ सय ५७ रन बनाउनुपर्ने लक्ष्य दिइयो । तर, टोलीले १ सय ३७ रन मात्रै बनाउन सकेको थियो । वेस्ट इन्डिजका लागि ब्रेन्डन किंग र निकोलास पूरनले ४२÷४२ रन बनाए । भारतीय बलरमा युजवेन्द्र चहलले ४ विकेट हासिल गर्दा मोहम्मद सिराज र शार्दूल ठाकुरले २–२ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्