काभ्रे शंखुका अध्यक्षसहित १५ जनाविरुद्ध वन मुद्दा



काभ्रे ।

सडक खन्ने क्रममा सामुदायिक वनका ७१ वटा रुख क्षति पु-याएको भन्दै १५ जना उपभोक्ता विरुद्ध वन मुद्दा दर्ता भएको छ । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारीहरू र उपभोक्ताहरू विरुद्ध दर्ता भएको मुद्दाका प्रतिवादीहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

धुलिखेल नगरपालिका १२ शंखु र पनौती १० शारदा बतासे र आसपासका उपभोक्ताहरूले प्रयोग गर्ने तारे भिर घ्याङ डाँडा सामुदायिक वन उपभोक्ता समूहमा भएका खोटे सल्लाका रुखहरू कटान गरी सडक निर्माण गर्ने क्रममा स्थानीयहरूकै उजुरीका आधारमा वन मुद्दा दर्ता भएको हो । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उद्धव आचार्य, उपाध्यक्ष विनोद रिजाल, पूर्व अध्यक्ष केदारबहादुर थापा लगायत १५ जना विरुद्ध परेको उजुरीका आधारमा भएको अनुसन्धानका आधारमा वन मुद्दा दर्ता गरिएको थियो ।

मुद्दा दर्ता भएकाहरुमा पनौती नगरपालिका वडा नम्बर १० बस्ने ६४ वर्षीय रामजी हुमागाईँ, ५३ वर्षीय रमेशराज अधिकारी, ५२ वर्षीय उद्धवप्रसाद अधिकारी, ५० वर्षीय शिवप्रसाद अधिकारी, ४८ बर्षिया ईश्वरी आचार्य, ३५ वर्षीय श्यामकृष्ण अधिकारी, ३० वर्षीय मोहनकृष्ण अधिकारी, ७८ वर्षीय केदारबहादुर थापा, ६१ वर्षीय सानुकाजी थापा, ६२ बर्षिया कल्याणी अधिकारी, ४३ बर्षिया भवानी विक रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर १२ घर भएका ५६ वर्षीय डोरनाथ आचार्य, ४४ वर्षीय विनोद रिजाल र ३५ वर्षीय दीपेन्द्र अधिकारी रहेका छन् भने काठमाडौँ महानगरपालिका वडा नम्बर ३० घर भएका देव गौतम रहेका छन् ।

खोपासी सव डिभिजन सहायक वन अधिकृत रनिता बराललाई डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेको थियो । २०७८ साल चैत्र २२ गते पनौती नगरपालिका वडा नम्बर १० र धुलिखेल नगरपालिका वडा नम्बर १२ का उपभोक्ताहरूले प्रयोग गर्ने तारे भिर घ्याङ डाँडा सामुदायिक वन उपभोक्ता समूहका पूर्व र वर्तमान समिति तथा उपभोक्ताहरूको निर्णय अनुसार सडक खन्दा ७१ वटा खोटे सल्ला प्रजातिका रुख ढलेका थिए । २०७३ असार २७ गते सामुदायिक वन उपभोक्ता समूहले न्यून क्षतिमा बाटो निर्माण गर्न दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार पनौती १० र धुलिखेल १२ स्थित बन क्षेत्र वरपर कृषि योग्य जमिनमा पुग्न र सोही जमिनमा उत्पादन हुने अन्नबाली ओसारपसार गर्ने प्रयोजनले सडक खनिएको उपभोक्ताहरूको जिकिर थियो ।  सडक खन्ने क्रममा रुख धेरै क्षति भएको भन्दै उपभोक्ताहरूको उजुरीका आधारमा डिभिजन वन कार्यालय काभ्रेमा परेको उजुरीका आधारमा अनुसन्धान समिति गठन भएको डिभिजन वन कार्यालय काभ्रेले जानकारी दिएको छ । क्षति भएका रुखहरूको मुल्यांकन २ लाख १ हजार ३ सय ४६ रुपैया गरिएको छ ।

वन ऐन २०७६ को दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसुर गरेको सोही ऐनको दफा ५० को (३) बमोजिम ५ वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जिल्ला अदालत काभ्रेपलान्चोकले २०७९ साउन ९ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वन समितिका अध्यक्ष उद्धव आचार्यलाई ५० हजार धरौटी आदेश गरेको छ । त्यस्तै कल्याणी अधिकारी, रामजी हुमागाईँ र मोहनकृष्ण अधिकारी भनिने रोशन अधिकारी अधिकारीलाई ३० हजार धरौटी आदेश गरेको छ । साथै बरामद भएका रुखहरू कुहिने भएकाले तत्काल लिलामी गरी धरौटी कोषमा रकम जम्मा गर्ने र मुद्दाको फैसला पछि त्यसको अन्तिम टुङ्गो हुने आदेश गरेको छ ।

अनुसन्धान अधिकृत रनिता बरालले अदालतमा पेस गरेका चार जना बाहेक अन्य ११ जनालाई फरार देखाएकी थिइन् । अदालतले चार जनालाई धरौटी आदेश गरे लगत्तै साउन १० गते पूर्व अध्यक्ष केदारबहादुर थापा र उपाध्यक्ष विनोद रिजाल अदालत हाजिर भएका थिए । उनीहरू दुबैलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ भने रमेशराज अधिकारीलाई ३० हजार धरौटी माग गरिएको छ । अन्य फरार पनि  धमाधम हाजिर हुन आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्