फोनिजले तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने



काठमाडौं ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

फोनिजको शुक्रबार सम्पन्न संघीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको महासचिव मिलन लिम्बूले जानकारी दिनुभयो ।अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरूको बैठक सञ्चालन, वार्षिक क्यालेन्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, तीन महिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरूको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताको लागि अनलाइन प्रणालीमार्फत् आवेदन दिने र अनलाइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुनेछ ।नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, संघको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयहरूबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

त्यसै गरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न आदिवासी जनजातिजन्य संघसंस्थाहरूसँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ ।बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्