अरुमाथि हिलो छ्यापेर आफू चोखो बन्ने काम नगरौं


नेपालको अर्थतन्त्रले अहिले व्यापक चर्चा पाएको छ । सदनदेखि सडकसम्म अर्थतन्त्रकै चुरो कुरो उठिरहेको छ । विपक्षीका दल केपी शर्मा ओलीले सदनमा उभिएर नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै बनिसकेको बताए । यता, उनले भनेको यो कुरा अहिलेको अवस्थासँग मिल्दोजुल्दो छ ।

इन्धनको अभाव, महँगी निरन्तर बढ्नु र वित्तीय संस्थामा तरलता बढ्नुले हरेक नेपालीले अर्थतन्त्र नाजुक स्थितिमा पुगेको अनुमान लगाएका छन् । सरकारले जति लुकाउन खोजेपछि यो कुरा बिस्तारै आउँदै छ । राजनीतिक दल र जनताले अर्थतन्त्रलाई लिएर टीकाटिप्पणी गर्न थालेका छन् । मुलुक कतातिर जान्छ भनेर अधिकांशले अड्कलबाजी गर्न थालिसकेका छन् ।

साँच्चै नै अर्थतन्त्र धराशायी बनिसकेको हो ? विपक्षीको पार्टीले तारन्तार एउटै कुरा भनेको भन्यै छ । एकातिर अर्थतन्त्र सकियो भनेर सदनमा चिच्याउँछन् । अर्कोतिर, अर्थमन्त्रीको राजीनामा माग गरेको ग¥यै गरियो । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएमा लछार्ने धम्कीसमेत सदनमा सुनिएको थियो । कतै ओलीले सरकारमाथि हिलो छ्यापेर आफू चोखो बन्ने खेल त रचेका छैनन् । सरकारले करको दायरा परिवर्तन गरेपछि एमालेका उद्योग व्यवसायीहरुले विरोध गरिरहेका छन् । उद्योग व्यवसायीसँग लिएको पैसा पचाउनका लागि विरोध गरिएको बुझिएको छ । आफ्ना कार्यकर्ता रिसाउँछन् भनेर अर्थमन्त्रीको राजीनामा मागेको त होइन ?

कर घटाउनका लागि विपक्षीका दलले आर्थिक चलखेल गरेर त बुरुकबुरुक उफ्रिएका होलान् । देशको अर्थतन्त्र जोखिममा प¥यो भन्दै अर्थमन्त्रीलाई खेदो गर्ने । डुबिसकेको अर्थतन्त्र अर्थमन्त्रीले राजीनामा दिँदैमा अब फिर्ता आउँछ त ? यसमा सरकारदेखि विपक्षी दल सबैको हात छ । एउटाले यताबाट खुट्टा तान्ने अर्कोले उताबाट । अनि कसरी देश सुध्रिन्छ ? सदनमा उभिएर ओलीले शेयरको कुरा पनि उठाए । सेयरवाला डुबे भनेर उनी सदनमै उफ्रिए ।

अहिले जति पनि शेयरमा लगानी छ ती मध्ये ६० प्रतिशत एमालेका कार्यकर्ता हुन् । आफैं पर्दाभित्र बसेर अनशन बस्न लगाउने अनि आरोप सबै सरकारलाई लगाउने । शेयरको मूल्य घट्नुको कारण ओली नै हो । शेयरमा समेत राजनीति छिराइयो, जसले गर्दा शेयरमा लगानीकर्ताहरुको आज रुवाबासी चलेको छ । आफैं कुट्ने अनि आफैं फकाउने ओली त्यस्ता व्यक्ति हुन् ।

विदेशी मुद्राको सञ्चिति सकिँदै गएको र अर्थतन्त्र सिद्धिएकै हो भने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यथार्थ कुरा किन बाहिर ल्याउँदैन ? विपक्षीको दलले यसरी आरोप लगाइरहँदा सरकार किन मौन छ ? विपक्षी दल गलत हो भने उसलाई कारबाही गर्नुप-यो । जहिले पनि एउटै कुरा कति उचालिरहने ? यहाँ दनदनी बलेको आगोमा पेट्रोल छर्किने काम भइरहेको छ ।

एमालेबाट अर्थमन्त्री भइसकेका व्यक्तिहरुले हरेक कार्यक्रममा अर्थतन्त्र डामाडोल भइसकेको कुरा मात्र उठाइरहेका छन् । सरकारले यो कुरा लुकाएर राखेको उनीहरु आरोप लगाइरहेका छन् । यता, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अबको तीनदेखि छ महिनाभित्र नेपाल श्रीलंकाकै अवस्थामा आउने बताउँछन् । बढ्दो व्यापार घाटा र विदेशी मुद्राको सञ्चितिमा कमी आएको उनी बताउँछन् ।
यता, नेपाल आयल निगम टाट पल्टिसकेको छ ।

पेट्रोलियम पदार्थ आयात गर्न नसक्ने स्थितिमा छ आयल निगम । निगमका निर्देशकले समेत अर्थतन्त्रले धेरै समय धान्न नसक्ने दाबी गरेका छन् । नेपाल पनि श्रीलंकाकै बाटोमा हिँडिरहेको बताइन्छ । यता, उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले पनि उही कुरा बताए । होटल, पर्यटनलगायत सम्पूर्ण व्यवसायी डुबिसकेको उनी बताउँछन् । थप लगानी गर्न पैसा नभएको उनको भनाइ छ । नयाँ उद्योगमा लगानी गर्ने पनि ठप्प भएको छ । यसको स्पष्टीकरण कसले दिने ? जनतामा त त्रास देखिन थालेको छ । ओलीले त्यति भन्नेबित्तिकै वित्तीय संस्थाबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । भटाभट जनताले पैसा निकाल्न थाले भने एक सातामा वित्तीय संस्था पनि रित्तिन्छ ।

देश सकिएकै हो कि एमालेले सकाउन खोजेको हो ? सडकदेखि सदनसम्म एमाले नेतादेखि कार्यकता कराइरहेका छन् । अर्थतन्त्र साँच्नै नै सकिएकै हो भने प्रधानमन्त्रीको राजीनामा माग्नुप¥यो । सरकारकै परिवर्तन ल्याउन माग गर्नुपर्ने होइन र ? जति बेला पनि एउटै विषयमा भाँडभैलो मच्चाइरहेका छन्, एमाले । अर्थमन्त्रीलाई हटाउनेबित्तिकै पाँच दलीय गठबन्धन फुट्छ र अर्कोचोटि बहुमतका साथ चुनाव जित्न सकिन्छ भनेर एमालेले बल लगाइरहेको बुझिन्छ । ओली र एमालेका सांसदहरुको कोठे राजनीति यही नै हो ।

जति नै ठूला कुरा गरे पनि एमालेले जनताबाट विश्वसनीयता गुमाइसकेको छ । आफूले दुईचोटि विघटन गरेको संसद्मा बसेर ओलीले तीन घण्टा भाषण दिए । सदन नौ महिना अवरोध भयो तर तलबभत्ता खाइरहे । अहिले पनि संसद्मा बाङगा कुरा गरेर संसद् चलाउन दिइरहेका छैनन् । अझै पनि जनताले मलाई पत्याउँछन् भन्नु भ्रममा जिउनु मात्र हो ।

श्रीलंका एकैचोटि त्यस्तो स्थितिमा पुगेको होइन । महँगी बढ्यो भनेर त्यहाँको सरकारले कर घटायो । लोकप्रिय हुनका लागि सरकारले देशै संकटमा पु¥याउने निर्णय ग-यो । यता, नेपाल सरकारले पनि हालसालै पेट्रोलियम पदार्थमा लिनुपर्ने कर घटाएको छ । जनतासँग लिनुपर्ने कर पनि राज्यले उठाउन सकिरहेको छैन । विदेशीसँग ऋण लिएर सरकारी कर्मचारीलाई तलब भत्ता खुवाउने काम भइरहेको छ । यसले पनि नेपालीलाई सोचमग्न बनाइदिएको छ ।

सरकार सही कि विपक्षी गलत, जनता अलमल परेका छन् । सरकारले पेट्रोलियम पदार्थ जतिमा खरिद ग-यो त्यतिमा नै बेच्नुपर्छ । घाटा खाएर सरकारले केलाई बेच्ने ? जनताले अहिले पनि कर तिरेका छैनन् । उनीहरुलाई किन कडाइ नगर्ने ? देश चल्ने एकमात्र स्रोत भनेको कर हो । यो नै उठाउन सकिएन भने मुलुक कसरी चल्छ ? कतिन्जेल विदेशीसँग ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउने ?
जनताप्रति हामी जिम्मेवार छौं, जनताका लागि हामी जे गर्न पनि तयार छौं भन्छन् सरकार र सांसद । तर, आजसम्म एक दिनको तलब भत्ता छोडेको पाइँदैन ।

इन्धन ल्याउन नसक्ने भइसक्यो तर सरकारी गाडी लिएर डुल्न हिँडेका छन् । देश सकिए पनि यिनीहरुले सरकारी सेवासुविधा लिन छाड्दैनन् । जनताको नाम बेचेर खान पल्केका ठगहरु । नेपाली कांग्रेसका महामन्त्री गगन थापा जतिखेर पनि जनताका लागि यो गर्छु, त्यो गर्छु भन्छन् । तर, आजसम्म उनले के गरे ? सरकारी जागिर खान पढाइ भएन, त्यसैले राजनीति गरेर कमाउन पुगेका हुन् ।

आफ्नो घर हुँदाहुँदै पनि सरकारबाट घरभाडा बुझ्ने दलालहरु यहाँ कति छन् कति । युवा नेता भन्यो, भ्रष्टाचार ग-यो । राजनीतिक दललाई जनताबाट नङ्ग्याउँदै पूर्वसञ्चारकर्मी रवि लामिछानेले पार्टी खोलेका छन् । अरुले भ्रष्टाचार गरेका छन् म किन नगर्ने भन्दै उनी कम्मर कसेर लागेका छन् । स्वतन्त्रको नाम लिएर दल खोल्ने रविलाई जनताले कहाँ पु-याउँछन्, हेर्न अझै बाँकी छ । जनता र राष्ट्रको लागि उनको योगदान अलिकति पनि छैन ।

टिभीमा चिच्याएको भरमा जनता पछि नलाग्लान् । टिभीमा जनताको कुरा उठाउनु उनको पेसा थियो । त्यही टिभीमै बोलेको र राजनीतिक दललाई गाली गरेको भरमा जनताले मलाई भोट दिन्छन् भन्नुचाहिँ दिउँसै सपना देख्नु मात्र हो । नेता बन्नु त धेरै गाह्रो छ । काठमाडौंका मेयर बालेन्द्र शाहको कुरा गरौं । हिजो के के न गर्छु जस्तो देखाए ।

राजनीतिक पार्टीलाई पछाडि छोडेर आएका व्यक्ति अहिले काम गर्न नसकेर सर्वत्र आलोचित छन् । बालेनलाई मेयर पद टोक्नु न बोक्नु भएको छ । अझै पनि जनतालाई झुक्याएर माथि पुग्छु भनी कसैले नसोच्दा पनि हुन्छ । कुनै पनि व्यक्ति वा राजनीतिक दलले देश र जनतामाथि खेलबाड नगरौं ।
– अनुसा थापा ।