सरकारले यातायात व्यवसायीलाई छुट दिएको हो ?



नेपाल सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट गत जेठ १५ गते सार्वजनिक ग-यो । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट दुवै सदनबाट पारित भइसकेको छ ।

तर, अहिलेको बजेटमा पनि यातायात क्षेत्रका विषयहरु समेटिएनन् । सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने १५ वटा चीजमा राजस्व बढाइएन । २०४९ देखि २०७९ सालसम्म आइपुग्दा पनि उही राजस्व यथावत् छ । विगत ३० वर्षदेखि यातायात व्यवसायीले तिर्नुपर्ने राजस्व पनि बढेको छैन । तर, यतापट्टि जनताले तिर्नुपर्ने भाडाचाहिँ २० गुणाले बढेको छ । जाँचपास, बिलबुक नवीकरण, रोड परमिट, प्रदूषण, पञ्जीकरण, नामसारी, अञ्चलीकरण, पट्के, २० वर्षे गाडी स्क्र्याब गर्दा लिनुपर्ने राजस्व बढेको छैन । गाडीको रङ्ग परिवर्तन, जेब्राक्रसमा सवारीसाधन नरोक्दा, सरकारले तोकेभन्दा बढी भाडा यात्रुसँग लिएमा कारबाहीबापत लिनुपर्ने राजस्व पनि बढेन ।

उता, ट्याक्सीको मिटर जडान गर्दा र मिटर नवीकरण गर्दा राजस्वलाई तिर्नुपर्ने राजस्व पनि उही नै छ । कम्पनी र घरेलुमा लगेर पञ्जीकरण गर्दा सरकारले लिनुपर्ने राजस्व पनि बढाइएको छैन । २०४९ सालको यातायात ऐनले वार्षिक तीनपटक रोड परमिटको राजस्व तिर्ने व्यवस्था मिलाएको थियो । तर, अहिले यो पनि घटाएर बागमती प्रदेश सरकारले दुईचोटिमा झारेको छ । २०७५ माघ १८ गते प्रदेश सरकारले प्रत्येक ६ महिनामा रोड परमिटको रकम तिर्ने भनेर राजपत्रमा प्रकाशित ग¥यो । जसको कारण राज्यको ढुकुटीमा जम्मा हुने अर्बौं रुपियाँ क्षति भयो ।

यसमा प्रदेश सरकारका केही घुसखोरिया र यातायात व्यवसायीको मिलोमतो देखिएको छ । यातायात व्यवसायीले ११ लाख यात्रुवाहक र ढुवानी गर्ने सवारीमा १७ खर्ब लगानी गरेका छन् । तर, राज्यले यसबाट सुको पनि राजस्व पाउँदैन । जसले जति लगानी गरे पनि अन्ततः राज्य चिल्लै ।

सरकारले तोकेको भाडादरभन्दा बढी भाडा उठाएर यातायात व्यवसायीले दिनहुँ १८ करोड ठगिरहेका छन् । २०७५ वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले संस्था ऐन २०३४ र २०१८ मा दर्ता भएको यातायात समिति र महासंघ खारेज गरेर कम्पनीमा लैजाने निर्णय ग¥यो । संस्थाको विधानमा वा नेपालको कानुनमा यदि संस्था खारेज भएमा त्यसअन्तर्गत रहेका सम्पूर्ण चलअचल सम्पत्ति स्वतः सरकारको हुन्छ भनेर लेखिएको छ । तर, संस्था खारेज भइसकेपछि खर्बौंको चलअचल सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने ठाउँमा व्यक्तिको नाममा गयो ।

केपी शर्मा ओलीको सरकारले आर्थिक चलखेल गरेर राष्ट्रियकरण गर्नुपर्ने सम्पत्ति फुक्का गरेको बुझिन्छ । यसमा त्यतिखेरका गृहमन्त्री रामबहादुर थापा र वसन्त नेम्वाङको पनि मिलोमतो छ । यिनीहरु भनेका देशका लागि साप हुन् । करोडको पछि लागेर खर्बौंको सम्पत्ति फुक्का गरियो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले त्यसअघि गाडी धनीसँग दुईदेखि १५ लाख रुपियाँ उठाइरहेको थियो, बाटो हेरेर । बाटो त राज्यको हो नि । तर, सोही बाटो बेचेर यातायात समितिका नेताहरु कमाउने । त्यो बाटोमा गाडी चलाउन राज्यले रोड परमिटबापत जम्मा पाँच सय रुपियाँ पाउँछ । जनताले तिरेको करबाट निर्माण भएको बाटोमा यातायात व्यवसायीहरुले मोजमस्ती चलाएका छन् ।

देशभरिको बाटो यातायात व्यवसायीको कब्जामा छ । गुण्डा पालेर, राजनीतिक दललाई चन्दा दिएर उनीहरुले अहिले पनि यात्रु ठगिरहेका छन् । गैरकानुनीरुपमा एउटा गाडीबाट दैनिक सात सयदेखि दुई हजार रुपियाँ लेबी असुलिरहेको पाइन्छ । जनता ठगेर यिनीहरुले अर्बौंको सम्पत्ति जोडेका छन् । तैपनि शुद्धीकरण विभागले यिनीहरुको सम्पत्ति छानबिन गरेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर, सरोज सिटौलालगायत अन्यको सम्पत्ति छानबिन हुनुपर्छ ।
त्यसै गरी, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, महासचिव भरत नेपाल र अन्य नेताहरुको पनि सम्पत्ति खोजतलास गर्न जरुरी छ ।

यतिको आँट शुद्धीकरण विभागसँग छ ? अटोशोरुमदेखि लिएर बिमा गर्दासमेत कमिसन खान्छन् । पुराना गाडी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु हालेर भीरबाट खसालेर मारिदिने । मरेको मान्छेको नाममा बिमाले दिएको रकम पनि यिनीहरुले खान्छन् । क्षतिपूर्तिबापत थोरै रकम दिने अनि बाँकी आफैं झ्वाम पार्छन् । यातायात महासंघ वा समिति हिजो को हुन् ? कंलकीमा टिकट काट्नेहरु आज कहाँबाट अर्बौंको मालिक भए ? ड्राइभर, खलासी पेसा गर्नेहरुले त्यत्रो रकम यत्तिकै जोड्न सक्छन् ? यिनीहरुले ठगेर कमाएका हुन् त स्पष्ट भइसकेको छ ।

२०७५ वैशाख २३ गते गृह मन्त्रालयमा बैठक डाकिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालय र यातायात मन्त्रालयको बैठकले यातायात समितिको खाता रोक्का गर्ने निष्कर्ष निकाल्यो ।त्यस्तै, यातायात क्षेत्रका नेताहरुको सम्पत्ति खोजतलास गर्नलाई शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्ने भनियो । ३०७ मध्ये २४५ वटाको बैंक खाता रोक्का भयो ।

६२ वटा समितिको खाता सहकारीमा भएकाले खाता रोक्का भएन । यता, घरजग्गा पनि फुकुवा नै थियो । पछि यातायातका नेताहरुले आड र पहुँचको प्रयोग गरेर उक्त सम्पत्ति फुक्का गरे । गाडी साहु र राज्यले सुको पनि पाएनन् । गाडी साहुले पनि त्यहाँ पैसा जम्मा गरेर थिए । तर, बाठाटाठाले मात्र उक्त रकम हत्याए अरु सबै हरेको हे¥यै । २०७६ माघ १० गते शुद्धीकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भेट्न पुगे । उनीहरुको एजेन्डा आफ्नो सम्पत्ति छानबिन नहुनुपर्ने थियो ।
त्यतिखेर विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत थियो ।

महानिर्देशक भट्टराईले भने, ‘शुद्धीकरण विभाग प्रधानमन्त्रीको निर्देशनमा चल्छ । प्रधानमन्त्रीले तपाईंहरुको सम्पत्ति छानबिन गर्न निर्देशन दिनुभएको छ । त्यसैले म छानबिन गर्दिन ।’ यति भनेपछि यातायात व्यवसायी फुरुङ्ग हुँदै फर्किए । २०७३ फागुन ११ गते भट्टराईले महानिर्देशक भएर यातायात व्यवस्था विभागमा पाइला टेकेका थिए । २०७४ मंसिरमा उनले भाडाका गाडीहरु पञ्जीकरण नगरीकन चल्न नदिने भनेर टिप्पणी उठाएर मन्त्रालय पठाए ।

भाडाको गाडीले राजस्व तिरेनन् र यातायात क्षेत्रमा एकाधिकार रह्यो भनेर उनले यातायात समिति खारेज गरेर कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । त्यतिखेर प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने यातायातमन्त्री पनि नेपाली कांग्रेसकै थिए । महानिर्देशक भट्टराईको प्रस्ताव यातायातमन्त्रीले दराजमा थन्क्याइदिए ।२०७४ चैत ३ गते यातायातमन्त्री रघुवीर महासेठ भए । उनले चैत १८ गते थन्किएको फाइल सदर गरिदिए । यातायात क्षेत्रमा भएको सिन्डिकेट हटाउने श्रेय महासेठ र भट्टराईलाई जान्छ । तर, केपी ओलीले मैले सिन्डिकेट हटाएँ भनेर सदनमा उभिएर झुटो भाषण गरे । उता, गृहमन्त्री रामबहादुर थापाले पनि मैले हटाएको हुँ भनेर फाइँफूर्ति लगाए । नगर्नेको नाम आयो तर गर्नेको चिल्लै भयो । उनीहरुको कसैले पनि उठान गरेनन् ।

लामो समयदेखि कालो र हरियो प्लेटको ट्याक्सीको नयाँ दर्ता बन्द छ । कालीमाटीलगायत अन्य तरकारी बजारमा ढुवानी गर्ने सवारीको दर्ता २०४३ सालदेखि बन्द छ । त्यहाँ जम्मा ३५० तरकारी र फलफूल बोक्ने सवारी छन् । निजी सवारीले चर्को शुल्क लिएर ढुवानी गरिरहेको छ । सबै प्रदेशमा ट्याक्सीको दर्ता विगत ३३ वर्षदेखि बन्द छ । उपत्यकामा जम्मा नौ हजार ट्याक्सी छन् । त्यो पनि कबाडी, थोत्रा ७९६ सिसीको ।२० वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट १२ लाखमा खरिदबिक्री भइरहेको छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिने हो भने जनताले सित्तैमा नम्बर प्लेट पाउँछन् । जसले गर्दा ट्याक्सीको मूल्य सस्तो पर्न जान्छ र पटकपटक भाडा बढाउने झमेला पनि हट्छ । सरकारले अब फो स्टक ट्याम्पोलाई पनि विकल्पमा राख्नुपर्छ ।

नेपाल आयल निगमले केही दिनअघि पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ प्रतिलिटर घटायो । यातायात व्यवस्था विभागले पनि सोही अनुसार भाडा कायम गरेको छ । विभागले भाडा घटाए पनि यातायात व्यवसायीले भाडा घटाएका छैनन् । अनुगमन नै नभएपछि मनोमानी चलाउनु स्वाभाविकै हो । यातायात क्षेत्र विकृतिको दलदलमा फसेको छ । सरकारले खारेज गरेको महासंघसँग गाडी पनि छैन । तर पनि पैसा उठाएर खाने क्रम रोकिएको छैन । यिनीहरु व्यवसायी होइनन्, राज्य र जनता ठग्ने माफिया हुन् । ठगहरुको विरोधमा अब जनताले आवाज उठाउनुपर्छ । अहिले पनि सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली छन् ।
– मिना शर्मा ।

प्रतिक्रिया दिनुहोस्