पूर्व मेयरद्वारा पदावधि सकिनुअघि अवैध रूपमा जग्गा भाडामा



 पोखरा ।

पोखरा महानगरपालिकाका निर्वतमान मेयर मानबहादुर जिसीले आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टाअघि ३ वटा जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा दिएको खुलासा भएको छ ।

४०, १८ र ५ रोपनी क्षेत्रफलका ३ वटा जग्गा र संरचना १० देखि २५ वर्षसम्मको लागि निजी कम्पनीलाई भाडामा दिएको खुल्न आएको छ । जेठ ५ गते मेयरको पदावधि सकिने भएपछि उहाँले कानुनी प्रक्रिया नै नपु-याई गोप्य तरिकाले कार्यालय बाहिर गएर सम्झौता गर्नुभएको हो ।

पोखरा उपत्यका नगर विकास समितिको कार्यालय बन्द भएको दिन पूर्वमेयर जिसीले ६३ रोपनी जग्गाको भाडा सम्झौता गरेको खुलेको हो ।तर, नगर विकास समितिका अध्यक्ष जिसीले आफैंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छैन । जबकि सम्झौतापत्रमा सदस्य सचिवको हैसियतमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने हो ।

सम्झौता गर्दाको दिन जेठ ३ गते नगर उपत्यका विकास समितिको कार्यालयमा पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना चलिरहेको थियो । मतगणनाका लागि कार्यालय बन्द भएको अवस्थामा बाहिर नै सम्झौता गरेको खुलेको हो । तर, कहाँ गएर सम्झौता भयो भन्ने चाहिँ खुलेको छैन । कार्यालयका कर्मचारी स्रोतका अनुसार उक्त दिनको खाजा खर्च भनेर ५० हजार रुपियाँको बिलसमेत नगर उपत्यका विकास समितिको कार्यालयमा पुगेको छ । स्रोतका अनुसार रोहबरमा रहेका कर्मचारीहरूलाई भने मेयरको कार्यकक्षमा नै बोलाएर हस्ताक्षर गर्न लगाइएको थियो । सबै सम्झौतमा मेयर जिसीकै हस्ताक्षर छ ।

प्राप्त सम्झौतापत्र अनुसार यातायातको जग्गा राइजिङ कन्सट्रक्सनलाई ५ रोपनी जग्गा १० वर्षका लागि मासिक १ लाख ३५ हजार रुपियाँ भाडामा, पोखरा वडा नं. १७ मा पर्ने ३, ३५, ३६ र १८० कित्ताको ४० रोपनी जग्गा एक्सन बिल्र्डसलाई २५ वर्षका लागि मासिक २ लाख ७२ हजार रुपियाँ भाडा लिने सम्झौतापत्रमा उल्लेख छ । बिल्डर्सका तर्फबाट विष्णु भण्डारी र नगर विकास समितिका तर्फबाट जिसीले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, महानगरको स्वामित्वमै नआएको पर्यटन वसपार्क १० वर्षको लागि शिला शालिकग्राम निर्माण सेवालाई भाडामा दिइसकेका छन ।यही बसपार्क निजी कम्पनीले भाडामा लगाएको खुलेपछि मात्रै अन्य दुई जग्गा पनि भाडामा दिएको खुलासा भएको थियो । यो जग्गाबाट मासिक २ लाख ७५ हजार भाडा लिने भनिएको छ । जुन चलनचल्तीको बजार दररेटअनुसार निकै कम हो । १८ रोपनी क्षेत्रफल रहेको यो जग्गालाई निर्माण कम्पनीले कुन प्रयोजनमा लिएको हो खुलेको छैन ।
मेरो काम जनताले मूल्यांकन गरेका छन्: जिसी

पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको निर्वतमान मेयर मानबहादुर जिसीले बताउनुभएको छ ।पोखरा महानगरको प्रमख र समितिको अध्यक्ष हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरी कुनै निर्णय र काम नगरेको उहाँको भनाइ छ । उहाँले आफू मेयर हुँदै गर्दा भएका कामको पोखरेली जनताले मूल्यांकन गरेका प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

‘पोखरा महानगरको प्रमख र समितिको अध्यक्ष हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरी कुनै निर्णय र काम गरेको छैन । यो अवधिमा भएका कामको पोखरेली जनताले मूल्यांकन गर्नुभएकै छ, र अब पनि गर्नुहुनेछ’ –उहाँले भन्नुभयो ।पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताउनुभयो ।

संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाएको विज्ञप्तिमा लेख्नुभएको छ ।मेयर जिसीले विगतका गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मूल्यअनुसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानुन र विधि सम्मत जग्गा भाडामा लगाइएको बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्