लामो समयदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने



सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो ।

प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ ।

आगामी आव २०७९र८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ ।

प्रतिपक्षी दलले यसअघि भएको सातबुँदे माग अघि सारेको छ । उक्त सातबुँदे माग पूरा नगरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन ।

सभामुख राजबहादुर शाहीले भोलि बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको जानकाी दिए । “भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ उक्त बैठक बस्नुअघि सर्वदलीय बैठक बस्छ”, सभामुख शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्