नेपाल प्रहरी श्रीमती संघ र एन-प्याबसनबीच सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं ।

नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एन-प्याबसन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई एन-प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र एन-प्याबसनकोतर्फबाट एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदानसमेत गरे ।

कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मुल्याङ्कन गरी एन-प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने कामना उनले व्यक्त गरे ।

एन-प्याबसनका सह-अध्यक्ष सुवास न्यौपानेले राम्रो काम थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । एन-प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०‍-२ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ । प्रस्तुत  सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, श्रीमती संघका पदाधिकारीहरु, एन-प्यावसनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्