हर्डल्समा जयरानीको अर्को कीर्तिमान



काठमाडौं । 

नेपाल आर्मीकी जयरानी थारुले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सबिता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।

यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको समय १६.३८ सेकेन्ड थियो । यस्तै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।

जयरानीले महिला लङजम्पमा पनि स्वर्ण जितेकी छन् । जयरानीले ५ दशमलव १३ मिटर दूरीका साथ स्वर्ण जितेकी हुन् । एपीएफकी शिला चौधरीले ५ दशमलव ३ मिटरका साथ रजत जित्दा पुलिसकी सीमा चौधरीले ४ दशमलव ७८ मिटर उफ्रदै कास्य जितेकी थिइन् ।

यस्तै महिला २ सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले एपीएफकी रमिता कुमारी चौधरीलाई पछि पार्दै स्वर्ण जितिन् । सरस्वतीले दूरी पार गर्न २५ दशमलव ४८ सेकेण्ड समय लिइन् । रमिताले २६ दशमलव ०२ सेकेण्ड र कास्य पदक जितेकी बागमतीकी लुजला अमात्यले २७ दशमलव ४० सेकेण्डको समय लगाए ।पुरुषतर्फ भने एपीएफका शिवराज पार्कीले स्वर्ण जिते । उनले २१ दशमलव ९२ सेकेण्डमा दूरी पार गर्दै कर्णाली प्रदेशका डिल्ली भण्डारीलाई पछि पारे । डिल्लीले २२ दशमलव ४१ सेकेण्डमामा दूरी पूरा गरे । एपीएफका आशिष चौधरीले २२ दशमलव ५० सेकेण्डमा कास्य जिते ।

८ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्दा आर्मीकै सुनिल सुनारले रजत जिते । सोमले १ मिनेट ५६ दशमलव २ सेकेण्डको समय खर्चदा सुनिलले १ मिनेट ५६ दशमलव ७२ सेकेण्ड लगाए । पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५६ दशमलब ७९ सेकेण्डका साथ कास्य जिते । महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण जितिन । उनले २ मिनेट १६ दशमलव ८ सेकेण्डका साथ स्वर्ण जितेकी हुन् । कर्णाली प्रदेशकी राममाया बुढाले रजत र आर्मीकी राधिका श्रेष्ठले कास्य प्राप्त गरे ।

यसैगरी सटपुट महिलातर्फ पुलिसकी चन्द्रकला लामगादेले १२ दशमलव २७ मिटर दूरी फाल्दै स्वर्ण पदक जितिन् । १० दशमलब ८८ मिटरमा साथ लुम्बिनीकी संगीता अधिकारीले रजत र १० दशमलब १५ मिटरका साथ लुम्बिनीकै सुशीला चौधरीले कास्य जिते । पुरुषतर्फ आर्मीका तिलक विकले १२ दशमलव २० मिटर दूरी फाल्दै स्वर्ण जित्दा गण्डकीका राजन विकले रजत र पुलिसका पुष्कल खण्डाले कास्य जिते ।

प्रतिक्रिया दिनुहोस्