ललितपुरको झम्सीखेल-बखुण्डोल सडक आजदेखि एकतर्फी

0
Shares

  काठमाडौँ।  ललितपुरको झम्सीखेल-बखुण्डल सडक आइतबारबाट एकतर्फी गरिएको छ । ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म चार पाङ्ग्रे सवारी साधन एकतर्फी गरेको हो।

महानगरपालिकाका भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखाको समन्वयमा झम्सिखेल चोकदेखि बखुण्डोल समिट होटल अगाडिको चोकसम्मको ६३२ मिटर क्षेत्रमा महानगरले वान वे गरेको हो । यो सँगै कानदेवता थानबाट समिट होटलको उकालो हुँदै झम्सिखेल आउने चार पाङ्ग्रे सवारी बखुण्डोल (समिट होटल) बाट पूर्व लागेर पुल्चोक हुँदै झम्सिखेल आउनुपर्ने हुन्छ।

यस्तै सानेपाबाट अरूण थापा चोकहुँदै झम्सिखेल आउने सवारीले पनि बखुण्डोल चोक पुगेर पुल्चोक भएर आउनुपर्नेछ।

पर्खाल भत्काएर सडक चौडा पारे पनि जाम नियन्त्रणमा सम्भव नदेखिएपछि साँघुरो बाटोमा वान वे सुरू गरेको ललितपुर महानगरपालिकाले जनाएको छ।

ललितपुर महानगरपालिका भित्र सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले झम्सीखेल-बखुण्डोल क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनलाई आइतबारबाट वान वे गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि अत्याधिक सवारी जाम हुँदै आएको यो रूट भएर हिँड्ने सवारीले अब घन्टौंसम्म जाममा बस्नु नपर्ने ललिपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । अरू गल्लीको तुलनामा यहाँ चार पाङ्ग्रे सवारी बढीनै देखिएको उनले बताए।

यसअघि महानगरले ललितपुरको पाटनढोका, पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने बाटो लगायत क्षेत्र वान वे बनाइसकेको छ।