स्थानीयवासीलाई मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुला



काठमाडौं ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छे गाउँपालिका–२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।
कम्पनीले कास्कीको माछापुच्छे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिस्ट्रार कार्यालय काठमाडौंबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्