मनसुनजन्य विपद्को तयारी सुस्त

0
Shares

काठमाडौं  । 

असार लागेसँगै मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरे पनि मनसुनजन्य विपद्को तयारी निकै सुस्त रहेको पाइएको छ ।

मनसुन शुरू भइसक्दा पनि विपद्को पूर्व तयारी नभएको भनि आलोचना भइरहेको बेला सोमबार बल्ल जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।कार्ययोजना स्वीकृति गरी तयारी अवस्थामा दौडिनुपर्ने बेला बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ लगायतका एजेन्डामा बल्ल विस्तृत छलफल गरेको बुझिएको छ ।

बैठकमा समितिका अध्यक्ष गृहमन्त्री बालकृष्ण खाँणले यो वर्षमा हुन सक्ने मनसुनजन्य विपद्का लागि तयार गरिएका जनशक्तिको अवस्था एवं साधन स्रोतको विवरण सहितको विस्तृत कार्ययोजना पनि लिखित रूपमा पेस गर्न निर्देशन दिनुभयो ।मनसुन शुरू भइसक्दा पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत भएको छैन ।

सो कार्ययोजनामा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जल तथा मौसम विज्ञान विभाग, संघीय मामिला तथा प्रशासन मन्त्रालय, स्वास्थ्य, खाद्य सुरक्षालगायतका क्षेत्रमा गर्नुपर्ने कामबारे विस्तृत योजना उल्लेख छ ।
केन्दीय कार्ययोजना स्वीकृत नहुँदा जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समिति कसरी काम गर्ने भन्ने अन्योलमा रहेको छ ।मौसम विज्ञान विभागका मौसमविद् सूदर्शन हुमागाईंका अनुसार यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । नेपालमा वर्षभरि हुने वर्षाको करिब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ ।

यसपटक मनसुनको चार महिनाको अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तर–पूर्व भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर– पश्चिमी भूभाग तथा सुदूरपश्चिमको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ ।छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुने हुँदा मनसुनमा ठूलो क्षति हुने गरेको छ । नेपालमा मनसुनको समयमा बाढी, पहिरो, कटान र डुबानले बर्सेनि ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेको छ ।

प्राधिकरणका अनुसार पछिल्लो ११ वर्षको तथ्यांकअनुसार मनसुनको अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएका छन् । यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति पनि पहिरोकै कारण भएको छ । २ हजार ४ सय ६५ वटा पहिरोका घटना हुँदा १ हजार ३ सय ८७ जनाको ज्यान गएको र ३ सय ३० जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।
नेपालको मनसुनजन्य विपद् क्षतिको न्यूनीकरण र रोकथामको प्रयासभन्दा बढी घटना भइसकेपछि प्रतिकार्यमा मात्र सीमित रहने गरेकोमा सरकारको आलोचना हुँदै आएको छ ।

सो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरूको आपतकालीन सम्पर्क नम्बरहरू सर्वसाधारणसम्म पुग्नेगरी सञ्चार गर्न सुझाव दिनुभयो ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद्सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राख्नुभयो ।

मुख्यसचिव शंकरदास बैरागीले उद्धार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनीतिक स्थानहरूमा पर्याप्त मात्रामा उपकरणहरूको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले आफ्ना निकायबाट भएका पूर्वतयारीका अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।