उद्योग मन्त्री बडूको संसदीय मर्यादाविपरीतको अभिव्यक्ति संसद्को रकर्डबाट हटाउन सभामुखको रुलिङ

0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले संसद्मा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रयोग गरेको संसदीय मर्यादाविपरीत अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री बडूले उक्त अभिव्यक्ति अभिव्यक्त गरेको भन्दै एमालेले विरोध गरेपछि सभामुख सापकोटाले रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।

हिजो (बिहीबार) बसेको संसद् बैठकमा ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिएका थिए ।

आज (शुक्रबार) ओलीले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख गर्दै ओलीले ‘स्तरहीन अभिव्यक्ति’ दिएको बताए ।

तर एमालेका सांसदले अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोधमा संसद् बैठक नै अवरोध गरेका थिए ।

त्यसपछि बसेको प्रतिनिधि सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति गरेका हुन् ।