जर्मन र अमेरिकाको सहयोगमा धुलिखेल अस्पतालमा रक्तनशा सम्बन्धी उपचार

470
Shares

काभ्रे।

रक्तनशा सम्वन्धी रोगको निदान एवं ब्यवस्थापनमा धुलिखेल अस्पताल अब्बल देखिएको छ । पछिल्लो समय रक्तनशा सम्वन्धी रोगको उपचार र पहि चानका लागि प्रयोग गरेको प्रविधियुक्त भास्कुलर ल्याव, अपरेसन कक्ष र क्याथल्यावका यसका उदाहरण हुन् ।

फोक्सो, मुटुरोग एवं रक्तनशा शल्यचिकित्सक डा. रविनमान कर्माचार्यले जन्मजात रक्तनशाको वनावटमा समस्या भएका विरामीहरु मध्ये २०२१ जनवरीबाट अस्पतालमा शुरु भएको क्याथल्यावको माध्यमबाट ५ सय भन्दा धेरै विरामीहरुको उपचार गरिसकिएको बताउनु भयो । ‘जन्मजात रक्तनशामा समस्या आउने विरामीहरुको रक्तनलीहरु एकै ठाउँमा गुजमुजिने हुन्छ’–डा. रविनमान कर्माचार्यले भन्नुभयो–‘समस्याको पहिचान भई सकेपछि आवश्यक शल्य चिकित्सा उपचार शुरु गरिएको छ ।

यसबाट लाभ लिनेको सख्या एक वर्षको अवधीमा ५ सय नाघिसकेको छ ।’ धुम्रपान, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोलको समस्याले धमनीमा साँघुरिने समस्या आउने, घाउ(अल्सर) विकसित हुने, औला तथा खुट्टा नै कुहिन थाल्ने समस्या आउने डा. कर्माचार्यले बताउनु भयो । यस्तो समस्याको समाधानका लागि क्याथल्यावमा विशेष खालको पाईप भित्र पसाएर आवश्यकता अनुसार अपरेशनकक्षमै लगि रक्तनशा ठुलो पार्ने बाईपास उपचार धुलिखेल अस्पतालमा शुरु भएको डा.शतिश बैद्यले बताउनु भयो ।

रक्तनशा सम्बन्धित रोगहरु दिन प्रतिदिन बढ्दो भएकाले समयमै समाधानका लागि परिक्षण गर्न चिकित्सकहरुले अनुरोध गरेका छन् । शिरा, धमनी र पालता (सतही) नशा गरि हाम्रो शरीरमा तीन थरिका रक्तनशाहरु हुन्छन् । यी मध्ये कुनैपनि संरचनामा हुने समस्यालाई रक्तनशा रोगका रुपमा लिइन्छ । जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ्य खानपान एवं आधुनिकताले गर्दा हाम्रो देशमा पनि पछिल्लो समय रक्तनशा रोगहरु बढिरहेको डा. शतिश बैद्यले बताउनु भयो । सन् २०१२ सेप्टेम्बरमा धुलिखेल अस्पतालमा रक्तनशा शल्यचिकित्सा शाखाको स्थापना भएको थियो ।

पछिल्लो दश वर्षमा रक्तनशा सम्बन्धी शल्यचिकित्सा सेवा निरन्तर वृद्धि भैरहेको छ । धुलिखेल अस्पतालबाट पछिल्लो समय रक्तनशा सम्बन्धी निकै धेरै नविनतम खालका निदान एवं उपचारात्मक सेवाहरु प्रदान हुँदै आएको छ । धुलिखेल अस्पतालको विशेषज्ञ टोलीलाई अमेरिकाको मेडिकल कलेज अफ विसकन्सिनको भास्कुलर सर्जिकल विभागले सघाउँदै आएको छ । यो सेवालाई पैmलाउन जर्मनीको कार्ल भन बेस्डो क्लिनिकमबाट सहायता पाउँदै आएको छ । निकै सानो मात्र खट बनाई (रेडियो फ्रिक्वेन्स प्रविधि) पिडुँलामा नशा फुल्ने समस्याको उपचार गर्ने मामिलामा यहाँको टोलीलाई नेपालमै अगुवा मानिन्छ । हालसम्म १ हजार २ सय भन्दा बिरामीले यस्तो उपचार सेवा पाइसकेको छ ।

उक्त टोलीले रक्तनशा सम्बन्धी रोगहरुको स्क्रिनिङ एवं निदान गर्नका लागि भास्कुलर ल्याब शुरु गरेको छ । सन् २०२१ मा यस टोलीले क्याथ ल्याब संचालनमा ल्याई धेरै प्रकारका रक्तनशा सम्बन्धी रोगहरुमा निकै कम चिरफार सहितको प्रविधि अपनाइरहेको छ । अहिले सम्म क्याथ ल्याबबाट २ सय ५० भन्दा बढीले सेवा पाइसकेका छन् ।

पिडुँलामा नशा फुल्ने समस्या

लामो समयसम्म उभिएर काम गर्नुपर्ने, गहु्रँगो भारी बोक्नुपर्ने मानिसहरुको पिडुँलामा नशा फुल्ने समस्या हुनसक्छ । गर्भवती महिलाहरुमा पनि यो समस्या प्रायस देखिने गरेको छ । समयमै उपचार गरिएन भने घाउ (अल्सर) विकसित हुनसक्छ । यस खालको समस्याको उपचारको क्रममा सन् २०१४ देखि धुलिखेल अस्पतालमा निकै सानो चिरफार मात्र चाहिने ताप तरङ्ग प्रविधि (मेडिकल भाषामा रेडियो फ्रिक्वेन्सी) प्रविधिबाट उपचार हुँदै आएको छ ।

सामान्यतः खुट्टातिरको रगत पनि मुटुमा फर्किनुपर्दछ । जटिल खालको शल्यक्रिया वा गम्भिर चोटपटकपछि लामो समयसम्म हलचल गर्न पाएन वा एक ठाउँमा बसिराख्नुपर्ने परिस्थितिले खुट्टातिरको नशाभित्रै रगत जम्ने समस्या आउनसक्छ । गर्भवती महिला, पिल्स चक्की सेवन गरिरहेकी महिला, कोभिड रोग लागेका व्यक्तिहरुमा तुलनात्मक रुपमा यस्तो समस्या हुने गरेको पाईएको छ । विभिन्न थरिको रगत जम्न नदिने औषधिहरु सहितको सेवा धुलिखेल अस्पतालमा उपलब्ध रहेको डा.कर्माचार्यले बताउनु भयो ।

मिर्गौला एवं अन्य समस्याका कारण नियमित रुपमा हेमोडायलाइसिस गराइराख्नु पर्ने बिरामीहरु विभिन्न खालका वैकल्पिक रक्तनशाहरुको जरुरत पर्दछ । धुलिखेल अस्पतालमा जटिल खालका अथवा अन्यत्रबाट रेफर गरिएका केसहरुमा पनि वैकल्पिक रक्तनशा बनाउन शल्यक्रिया हुँदै आएको छ ।

हालसम्म १ सय ५० भन्दा बढी गम्भीर खालको वैकल्पिक रक्तनशाहरु खोलेर उपचार भएको छ । पछिल्लो समय गर्भवति महिलामा पेट भित्रै बच्चाले दिशा खाने र बच्चा वरपर पानी जम्ने समस्या कोभिडका कारण देखिन थालेको चिकित्सक प्रा.डा सुमन ताम्राकारले बताउनु भयो । कोभिडकै कारण रक्तनशा सम्वन्धी समस्या देखिन थालेको डा. रविनमान कर्माचार्यले बताउनु भयो । कम शुल्कमा गुणस्तीयर उपचार दिन धुलिखेल अस्पताल अब्बल देखिएको छ ।