प्रदेश १ को स्थानीय तहमा ६ जना मात्रै महिला नेतृत्व

0
Shares

 विराटनगर । 

प्रदेश १ को १ सय ३५ स्थानीय तहमध्ये ६ स्थानीय तहमा मात्रै महिलाले नेतृत्व हात पारेका छन् । निर्वाचन परिणामअनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ ।

उदयपुरको त्रियुगा र कटारीको मत गणना सकिनुअघि प्राप्त विवरणअनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना मात्रै महिला विजयी भएका छन् ।प्रदेश १ मा प्रमुख पदमा जित्ने महिलाको संख्या २०७४ सालको तुलनामा बढे पनि उपप्रमुख पदमा भने महिलाको संख्या उल्लेख्य घटेको छ । उपप्रमुख पदमा ३६ जना पुरुषले महिलाको ठाउँ ओगटेका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशभरिबाट झापाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले एकमात्र महिला नेतृत्वका रूपमा हुनुहुन्थ्यो । यसपटक झापाको विर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी पवित्रा महतारा निर्वाचित हुनुभएको छ ।

यसअघि उपमेयर रहेकी उहाँले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गर्नुभएको छ । महताराले १६ हजार ५ सय २० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत पाउनुभएको थियो ।यस्तै, झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसकी ४५ वर्षीय फूलवती राजवंशी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । मोरङको कानेपोखरीमा नेकपा एमालेकी राजमती इङ्नाम नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको छ । उता, सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी हुनुभएको छ । उहाँले १ हजार २ सय ६० मतसहित नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १ सय ४७ मतको अन्तरले पराजित गर्नुभएको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा ४० वर्षीया विमला राई निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार राईले एमालेका खडेन्द्र राईलाई पराजित गर्नुभएको हो । यस्तै, खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित हुनुभएको छ ।

उहाँले गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका शंकरबहादुर राईलाई पराजित गर्नुभएको हो । तथ्याङ्कअनुसार ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाम र झापामा ३-३, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा २, सुनसरीमा १, सोलुखुम्बुमा २, खोटाङमा ७, ओखलढुंगामा ३ र उदयपुरमा ३ जना पुरुषले उपप्रमुख र उपाध्यक्षमा जितेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा ६ जना मात्रै पुरुष उपप्रमुख तथा उपाध्यक्ष थिए । जसमा झापाको कमल गाउँपालिकामा वेनु प्रसाद सिवाकोटी, गौरीगञ्जमा दिपिन्द्र थापा, हल्दीबारीमा डम्बर बहादुर गिरी, ताप्जेलुङको फुङ्लिङमा बमबहादुर भट्टराई, सिदिङ्वामा जीवनकुमार ताम्लिङ र पाँचथरको तुम्वेवामा धनप्रसाद साँवा हुनुहुन्छ । अन्य १४ जिल्लाको १ सय ३१ पालिकाको उपप्रमुख÷उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका थिए ।