हेटौंडा।
राजनीतिमा जोखिम मोल्ने क्षमता हुनु राम्रो मानिन्छ । सोही क्षमताकै कारण कतिपय नेताहरू आफूभन्दा धेरै पुराना नेतालाई पछि पार्दै मन्त्री बन्न सफल भएका छन् । २०४८, २०५१, २०७० र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका विरोध खतिवडा नेकपा एमाले विभाजन गरेर पहिलोपटक मन्त्री बन्नुभएको छ ।
राजनीति गर्नुलाई त्यत्तिकै जोखिमको कार्य मानिएको होइन रहेछ । किनकि, यसपटक वागमती प्रदेशका २ पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्यलाई जनताले मेयरमा नपत्याएको देखिएको छ । उहाँहरू दुवै न मेयर बन्नुभयो, न त सांसद् नै रहनुभयो ।वैशाख ३० गतेको स्थानीय तहको चुनावमा उम्मेदवार बन्नुभएका २ पूर्वमन्त्रीलाई जनताले मेयरमा स्वीकार गरेनन् ।
एमालेका तर्फबाट वागमती प्रदेशका सामाजिक विकास मन्त्री बनेका र प्रदेशसभाका सदस्यबाट राजीनामा दिएर भरतपुर महानगर मेयरमा उम्मेदवारी दिनुभएका विजय सुवेदी तथा वागमती प्रदेशमा एमालेको सरकारका पालामा भौतिक पूर्वाधार मन्त्री बनेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर काठमाडौं महानगर मेयरमा उम्मेदवारी दिनुभएको थियो । तर, दुवै जना मेयरमा पराजित हुनुभएको छ । माथिल्लो पदमा रहेकालाई तल्लो तहमा ओर्लिएर चुनाव लड्दा जनताले नपत्याएको देखिएको हो ।
प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको दोस्रो वरीयतामा रहनुभएका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितलाई पदबाट ‘बर्खास्त’ गर्नुभएको थियो । मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको नेपालमा सम्भवतः यो नै पहिलो थियो । २०७४ माघ २९ गते पद तथा गोपनियताको सपथ लिएका स्थापितलाई २ सय ६४ दिनपछि पदबाट हटाइएको थियो ।
मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको चर्काचर्की परेको थियो । उहाँको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको होे । नागरिकसँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति अति सुस्त भएको, मन्त्री स्थापितको कार्यशैली ठीक नभएको र असन्तुलित व्यवहार देखाएको मुख्यमन्त्रीले बताउनुभएपछि उहाँ बैठकमै आक्रोशित हुनुभएको थियो ।
मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो । मन्त्री स्थापितमाथि बैठकहरूका निर्णयविपरीत काम गर्ने गरेको, मुख्यमन्त्रीको निर्देशन अटेर गरेको, संसद्को निर्णय अवज्ञा गरेको, स्थापितकै ढिलासुस्तीका कारण भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित कानुन निर्माणमा ढिलो भएको आरोप लागेको थियो ।
स्थापितलाई सरकारले २०६९ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो । ९ महिना नबित्दै उहाँलाई पदमुक्त गरिएको थियो । २०५४ सालको स्थानीय निर्वाचनमा उहाँ काठमाडौं महानगर मेयरमा निर्वाचित हुनुभएको थियो ।नेकपा एमालेका तर्फबाट उम्मेदवार स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याउनुभएको थियो । उहाँ मेयर भएकै बेलामा पशुपति क्षेत्र, माइतीघर, तीनकुनेजस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहरा भत्काइएका थिए ।
सुवेदीले भने आफ्नै पार्टीको मत जोगाउन सक्नुभएन । उहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पराजित हुनुभएको छ । गठबन्धनबाट मेयर दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीलाई ३९ हजार ५ सय ५१ मत मात्र आयो ।











प्रतिक्रिया