वीरगन्ज ।
२०३८ साल जेठ १ गते बुवा टुंगराज रेग्मी र माता बालकुमारीको कोखबाट जन्मिएकी पर्साको ठोरी गाउँपालिकाकाी उपाध्यक्ष गोकुल कुमारी रेग्मी दोश्रो पटक मात्रै ठोरीको उपाध्यक्ष बन्न सफल हुनु भएको छ । अघिल्लो २०७४ सालको चुनावमा झिनो मतले पराजित हुनु भएकी रेग्मीलाई यसपाली भने ठोरीवासीले उपाध्यक्षमा निर्वाचित गरेका हुन् ।
अखिल नेपाल महिला संघबाट राजनीतिक यात्रा शुरु गर्नु भएकी रेग्मीले करिब ८ बर्ष सरकारी कर्मचारीको रुपमा समेत काम गर्नु भएको थियो । २०६४ सालमा तत्कालिन महिला बिकास कार्यालय पर्साले महिला कार्यकर्ताका लागि आवेदन आह्वान गरेपछि उहाँले पनि आवेदन दिनु भएको थियो र नाम निस्किएपछि उहाँ महिला बिकासको कर्मचारी भइ ठोरी क्षेत्रकै नागरिकहरुको सेवामा खटिनु भएको हो ।
तत्कालिन समयमा महिला बिकासका सबै कर्मचारी अस्थायी रहने भएपनि तत्कालिन सरकारको बद्मासी र महिलाप्रतिको बिभेदकारी नीतिका कारण २०७२ साल पुस १ गतेबाट कथित अस्थायी कर्मचारी भन्दै उहाँ सहित उहाँसंगै कार्यरत ६ जना पर्साका महिला कर्मचारीहरुलाई स्वतः अवकास दिएपछि उहाँको यात्रा गाउमा मोडिएको थियो ।तत्कालिन सिपी मैनाली दम्पत्ती महिला मंत्री भएका ताका उहाँ सहित देशभरका जम्मा ३० जना महिला कर्मचारीहरुलाई बिना कारण,बिना क्षतिप्रर्ति अवकास दिइएको थियो ।
संघीय सरकारले महिलामाथि हेर्नें दृष्टिकोण एदकमै बिभेदकारी भएको भन्दै उहाँले आफू पदमा रहदासम्म ठोरीका महिला र सबै नागरिकहरुको सेवामा दिनरात नभनी लागिरहने बताउनुभयो । लामो समय महिलाकै क्षेत्रमा काम गरेका कारण र महिलाहरुको समस्या आफूले नजिकबाट नियालेका कारण पनि आफूलाई नागरिकहरुको सेवा गर्न समस्या नभएको बताउनुभयो ।
२०५६ सालमा ठोरीकै,ठोरी माविबाट एसएलसी पास गर्नु भएकी रेग्मीले ठाकुररामबाट डिग्री उत्तीर्ण गर्नु भएको छ । राजनीतिमा पढेका ब्यक्तिहरुको पनि आवश्यक भएकाले आफ्नो यात्रा यता मोडिएको रेग्मीको भनाइ छ ।
रेग्मी गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेकपा एमालेका तर्फबाट उपाध्यक्षको उम्मेदवार रहनु भएकोमा माओवादीका उम्मेदवारलाई पराजित गर्दै उहाँ बिजयी हुनु भएको हो । यो पालिकामा अध्यक्षमा पनि एमालेले नै जीत हासिल गरेको छ । यसअघि २०७४ मा भने दुबैमा माओवादीको जीत थियो ।











प्रतिक्रिया